कांग्रेसकी सांसद पुष्पा भुसाल गौतम प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छन् ।
रिक्त प्रतिनिधि सभाको उपसभामुखमा उम्मेदवार दिएकी सत्ता गठबन्धनकी संयुक्त उम्मेदवार भुसालले १४८ मत पाएर निर्वाचित भइन् ।
यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद विद्या भट्टराईले ९३ मत पाइन् । शुक्रबार प्रतिनिधि सभामा उपस्थित २४२ सांसदमध्ये १ जना सांसदले मतदान प्रक्रियामा सहभागी भएका थिएनन् ।
उपसभामुख निर्वाचित हुनु अघिसम्म भुसाल कांग्रेसको तर्फबाट सचेतक थिइन् ।
उनी कांग्रेसको केन्द्रीय सदस्यसमेत हुन् ।
कांग्रेसले यसअघि २०७४ सालमा पनि उनलाई उपसभामुखको उम्मेदवार बनाएको थियो तर उनी नेकपा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित भएकी थिइन् ।
२०२८ सालदेखि राजनीतिमा सक्रिय पुष्पाले कांग्रेसमा लामो समय महिला विभाग र कानुन विभागमा काम गरेकी थिइन् ।
उनले कांग्रेस भातृ संगठन नेपाल महिला संघमा महासचिवको रुपमा समेत काम गरेकी थिइन् ।
२०५६ मा प्रतिनिधि सभा उम्मेदवार बने पनि पुष्पा पराजित भइन् भने २०६४ सालको संविधान सभामा अर्घाखाँचीबाट निर्वाचित भएकी थिइन् ।
२०७० सालको निर्वाचनमा भने उनी पराजित भएकी थिइन् । त्यस्तै उनी २०७४ सालको निर्वाचनमा भने उनी समानुपातिक तर्फको सूचीमा बसेकी थिइन् ।
राजनीतिमा सक्रिय हुनुअघि पुष्पा अध्यापनमा समेत संलग्न थिइन् । उनले त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष प्राध्यापन गरेकी थिइन् । उनी वरिष्ठ अधिवक्तासमेत हुन् ।
२०७४ मा उपसभामुख बनेकी शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ गते राजीनामा दिएकी थिइन् । त्यसयता उपसभामुख पद रिक्त रहेको थियो ।