• मंसिर ८ २०८१, शनिबार

पूर्व अर्थमन्त्री जनार्दन शर्मा प्रकरण : समितिले अझै पाएन सीसीटीभी फुटेज, छानबिन कार्य अन्योल

असार ३१ २०७९, शुक्रबार

काठमाडौं । अनधिकृत व्यक्तिले बजेटमार्फत करका दरमा चलखेल गरेको बेलाको सीसीसीटीभी फुटेजलगायत कागजात संसदीय छानबिन विशेष समितिले समयमा पाउन सकेको छैन ।

समितिले बिहीबार दिउँसो २ बजेभित्र ती कागजात उपलब्ध गराउन अर्थ मन्त्रालयलाई भनेको थियो । तर, ती कुनै पनि प्राप्त नभएको समिति सचिव सुरेन्द्र अर्यालले बताए ।

‘हामीले बिहीबार दिउँसोसम्म उपलब्ध गराउन भनेका थियौं । तर, मागेको कुनै पनि वस्तु अहिलेसम्म पाउन सकिएको छैन’, सचिव अर्यालले भने ।

अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले प्राविधिक समस्या आएको भन्दै सीसीटीभी तथा कागजात उपलब्ध नगराएको जनाइएको छ । मन्त्रालयको आनाकानीमै समितिको तीन दिन बितेको छ ।

यो समितिले गठनको एक सातापछि मात्रै काम थालेको थियो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएकै दिन असार २२ गते छानबिन समिति गठन गरिएको थियो ।

उसले असार २७ मा काम थालेको हो । शुक्रबारदेखि दु्रतगतिमा काम अगाडि बढाउने कार्यतालिका बनेको थियो । तर, सीसीटीभी र आवश्यक कागजात नपाएपछि अन्योल भएको जनाइएको छ । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।