काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. २, ३, ४ र ६ (साविककको सार्दिखोला गा.वि.स, घाचोक गा.वि.स, गाहाचोक गा.वि.स र धिताल गा.वि.स.का बासिन्दाहरूका लागि आईपीओ विक्री गरेको थियो ।
असार १ गते २२ गतेसम्म स्थानीयमा विक्री गरेको ५ लाख ८८ हजार ३७ कित्ता आईपीओ असार २९ गते बाँडफाँट गरेको हो । बाँडफाँटमा नपरेको आईपीओ बापतको रकम विक्री प्रबन्धकले साउन १ गतेदेखि सम्बन्धीत आवेदकहरूको बैंक खातामै रकामान्तर गरिने जानकारी दिएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।
पहिलो चरणमा स्थानीयमा आईपीओ विक्री गरेको यस कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ । कर्मचारी समेत सर्वसाधारणमा कम्पनीले २० प्रतिशत शेयर जारी गर्नेछ । हाल संस्थापक तर्फबाट चुक्ताभएको ७० प्रतिशत पूँजी रू. ४१ करोड १६ लाख २५ हजार रहेको छ । सर्वसाधारणमा समेत आईपीओ जारीपश्चात् कम्पनीको चुक्तापूँजी रू. ५८ करोड ८० लाख ३६ हजार पुग्नेछ ।
यस कम्पनीले कास्की जिल्लामा ४ मेगावाट क्षमताको सार्दिखोला जलविद्युत आयोजना निर्माण गरी २०७४ साल मंसिर २३ गतेदेखिनै विद्युत उत्पादन गर्दै आएको छ । उक्त आयोजनाको कुल लागत रू. ८३ करोड १० लाख १२ हजार छ । गत आर्थिक वर्ष ०७७÷७८ सम्म कम्पनीको वास्तविक सञ्चित नाफा रू. ८४ लाख ४२ हजार रहेको छ ।
सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ३ दशमलव ६८ र प्रतिशेयर नेटवर्थ रू. १०२ रहेको छ । कम्पनीले यहि प्रतिशेयर नेटवर्थ देखि तीन गुणासम्मको मूल्य रेञ्ज पहिलो शेयर कारोबारका लागि प्राप्त गर्नेछ ।