काठमाडौं । नेकपा एमालेको असहमतिका बाबजुद प्रतिनिधिसभाबाट नागरिकता ऐन संशोधन विधेयक अगाडि बढेको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक पेश गर्न मागेको अनुमतिमा एमाले र नेमकिपाका गरी तीनजना सांसदहरुले अगाडि नबढाउन माग गर्दै विरोधका सूचना दर्ता गरेपनि उक्त सूचना अस्वीकृत भएपछि विधेयक अघि बढाउन बाटो खुलेको हो ।
बैठकमा एमाले सांसद भीम रावल, शेरबहादुर तामाङ, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका थिए ।
विरोधको सूचना दर्ता गर्नु पर्नाको कारण खुलाउँदै सांसद रावलले राज्य व्यवस्था समितिले तीन वर्ष छलफल गरेर प्रतिवेदन पेश गरिसकेको अवस्थामा उक्त विधेयक फिर्ता लिएर अर्को नयाँ ल्याएर राज्य व्यवस्था समितिकै अवहेलना भएको जिकिर गरेका थिए ।
अर्का सांसद तामाङले लैंगिक पहिचानसहित आमा वा बाबुको नामबाट नागरिकता प्राप्त गर्ने मर्मविपरीत भएको भन्दै असमान व्यवहार सहितको विधेयक आएको भन्दै असहमति जनाएका थिए । सभामुखले तीनै जना सांसदलाई विरोधको सूचना फिर्ता लिन आग्रह गरेका थिए ।
तर उनीहरुले विरोधको सुचना फिर्ता नलिएपछि उक्त सूचनालाई प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेको सभामुख अग्नि सापकोटाले घोषणा गरेका थिए ।