• फाल्गुन २३ २०८२, शनिबार

निर्वाचन नजिकिँदै, कांग्रेसमा आन्तरिक विवाद बढ्दै, देउवा र शेखर पक्षको बैठकमै जुहारी

असार २९ २०७९, बुधबार

काठमाडौं । सरकारले प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति तोक्ने तयारी गरिरहेका बेला सत्तारुढ नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चुलिन पुगेको छ ।

स्थानीय तह निर्वाचन भएको करिब दुई महिना बित्न लाग्दा सो निर्वाचनको समीक्षाका लागि सोमबारदेखि सुरु केन्द्रीय समिति बैठकमा पार्टीका नेताहरू आगामी निर्वाचनको रणनीति बनाउनुको साटो उम्मेदवार छनोट, चुनावी तालमेल गर्ने कि नगर्ने, पार्टी विधानअनुसार नचलेको भन्दै एकअर्काप्रति आरोपप्रत्यारोपमा उत्रिएका छन् ।

वडा तहसम्मको गुटगत विभाजनलाई घटाउँदै आगामी चुनावको तयारीमा लाग्नुको साटो गुटकै बलमा आफ्नो स्थान सुरक्षित गर्न नेताहरू आरोपप्रत्यारोपमा सक्रिय भएका छन् । पार्टी संगठनलाई भन्दा गुटलाई नै आफ्नो आधार बनाउँदै केन्द्रीय सदस्य बैठकमा प्रस्तुत भएका छन् ।

सभापति शेरबहादुर देउवानिकट नेताहरूले गठबन्धनका कारण स्थानीय तह निर्वाचन परिणाम पार्टीको पक्षमा आएको जिकिर गर्दै आएका छन् । चुनावी तालमेलका क्रममा केही कमजोरी भए पनि त्यसलाई सुधार गर्दै अघि बढ्नुपर्ने पक्षमा उनीहरू देखिएका छन् ।

वर्तमान सन्दर्भमा गठबन्धन आवश्यक रहेको बताउँदै नेता रामचन्द्र पौडेलले अहिले सिद्धान्तको कुरा गर्ने बेला नभएको धारणा राखे । ‘स्थायित्व चाहने हो भने गठबन्धन आवश्यक छ । कांग्रेस र कम्युनिस्ट भन्ने बेला होइन यो,’ पौडेलले भने, ‘यो त स्थायित्व दिने कुरा हो। त्यसकारण चुनावी गठबन्धन गरौं। मापदण्डबारे छलफल गरौं ।’

नेता शेखर कोइराला पक्षका नेताहरू भने सभापति देउवा पार्टीलाई विधानअनुसार सञ्चालन गर्न छाडेर गठबन्धनकै जगमा रमाएको आरोप लगाएका छन् ।

कोइराला पक्षका सदस्यले दोस्रो पटक सभापतिमा निर्वाचित भएपछि पनि देउवा गुटबाट माथि उठ्न नसकेको भन्दै सबै पक्ष र समूहलाई समेटेर अघि बढ्नुपर्ने धारणा राखेका छ न्। पार्टीका निकाय र भ्रातृ संगठनहरू चलायमान बनाउन सभापतिले चासो नदिएको कोइराला पक्षको आरोप छ ।