• जेष्ठ १ २०८३, शुक्रबार

किसान महासङ्घको बागमती प्रदेश विस्तारित बैठक

असार २८ २०७९, मंगलवार

काठमाडौँ । मुलुकको विकास र समृद्धिका लागि कृषि क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने माग गरिएको छ । अखिल नेपाल किसान महासङ्घको बागमती प्रदेश समन्वय समिति विस्तारित बैठकमा सहभागी वक्ताले कृषि उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न कृषकलाई सहुलियत उपलब्ध गराउनुपर्नेमा जोड दिएका हुन् ।

काठमाडौँमा आजदेखि सुरु भएको दुई दिवसीय बैठकको उद्घाटन कार्यक्रममा महासङ्घका अध्यक्ष बलराम बाँस्कोटाले कृषकलाई बीउ र मल व्यवस्थापन गरी उत्पादनका आधारमा उनीहरुलाई सहुलियत उपलब्ध गराउन सरकारले खर्च वृद्धि गर्नुपर्ने बताए । नेकपा ९एकीकृत समाजवादी० का स्थायी समिति सदस्यसमेत रहेका बाँस्कोटाले किसानको वर्गीकरण गरी परिचयपत्र वितरण गर्न माग गरे ।

बागमती प्रदेशका कृषि, पशुपन्क्षी तथा मत्स्यमन्त्री वसुन्धरा हुमागाईंले मुलुकको समग्र कृषि उत्पादनमा बागमती प्रदेशको करिब १७ प्रतिशत योगदान रहेको बताउँदै खाद्य सम्प्रभुताको नियमावली तत्काल कार्यान्वयन भए यस क्षेत्रको दिगो विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले खेतीका समयमा मलमा परनिर्भरता हुने गरेकाले किसानलाई प्राङ्गारिक मल उत्पादनमा प्रेरित गरी उनीहरुका उत्पादनलाई भण्डारण र बजारीकरणको व्यवस्थापन गर्नुपर्ने बताए ।

महासङ्घका उपाध्यक्ष डा केशव खडका र कृषिविद् डा विशाल भण्डारीले कृषिमा समाजवादी रूपान्तरण गर्न सामूहिक खेती, साना किसानलाई तालीम, पर्यावरणको ज्ञान, अधिकारलगायत विषयमा प्रस्तुति गरे ।

महासङ्घका महासचिव प्रमेश पोखरेल तथा कोषाध्यक्ष दयालक्ष्मी श्रेष्ठले कृषि उत्पादनलाई सुरक्षित राख्न उचित समयमा उचित सूचना, समाचार उपलब्ध गराउन ‘सूचना प्रविधि’ को महत्वबारे प्रशिक्षण दिए । बुधबारसम्म सञ्चालन हुने बैठकमा १३ जिल्लाबाट ६१ प्रतिनिधि सहभागी छन् भने जिल्लादेखि पालिकासम्म प्रशिक्षण दिने कार्ययोजनामा छलफल जारी छ ।