बाजुरा । बुढीगंगा नगरपालिका १ बाजुराका रणबहादुर थापा संघीयता कार्यान्वयनमा आउनुअघिसम्म साविक बह्रमतोला गाविसमा सामाजिक कार्यकर्ता भएर काम गर्थे । संघीयतासँगै उनको जागिर गयो ।
२०७५ सालमा आफ्नै वडामा कार्यालय सहयोगिको नियुक्ति पाए । वडामा जनप्रतिनिधिले गर्ने कामका विषयमा नजिकबाट नियाल्ने यसै समय उनलाई मौका मिल्यो ।
आफ्नै वडामा जनप्रतिनिधि बन्ने र नागरिकको सेवा गर्ने इच्छा पलायो। ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भनेझै वडाध्यक्षको उम्मेदवार बने र विजयी पनि भएका छन् ।
अहिले आफ्नो कार्यालय सहयोगीदेखि वडाध्यक्ष सम्मको यात्रा सम्झँदै भन्छन्, ‘नागरिकको पीर मर्का बुझेको थिएँ । अब काम गर्ने अवसर पाएँ । नागरिकको मन जित्ने काम गर्छु ।’
बुढीगंगा नगरपालिकामा असार २३ मा सकिएको स्थानीय निर्वाचनमा उनी निर्वाचित भएका हुन् । थापा कार्यालय सहयोगी हुँदाको योगदान र नागरिकलाई गरेको व्यवहारले उनलाई वडाध्यक्षको कुर्सीसम्म पु¥याएको हो ।
थापाले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका लोगबहादुर थापालाई पराजित गरेका हुन् । विजयी रणबहादुर ४ सय १६ र पराजित लोगबहादुर थापाले ३ सय ५८ मत ल्याएका थिए । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।