काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले नयाँ प्रविधिको प्रयोगसँगै रेडियो नेपाललाई छिटो, छरितो र अझै विश्वसनीय सञ्चारमाध्यमका रूपमा विकास गरिने बताएका छन् ।
रेडियो नेपालले सोमबार आयोजना गरेको ‘विज्ञापन र कार्यक्रमदाता, विज्ञापन एजेन्सी तथा सरकारी एवं गैरसरकारी निकाय सम्मिलित’ अन्तरक्रिया कार्यक्रममा रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष डा अर्यालले बढ्दो प्रविधिको प्रयोग गर्दै रेडियो नेपाललाई सबै जनताको पहुँचसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले भने “दुर्गमभन्दा दुर्गम स्थानका जनतालाई शिक्षा, स्वास्थ्य, मनोरञ्जन र चेतना फैलाउने सजिलो माध्यम बनाउँदै यसको गुणस्तरमा विकास गर्नुपर्ने छ, सत्यतथ्य, छरितो र सजिलो सञ्चार माध्यमका रूपमा विकास गर्नुपर्ने छ ।”
सचिव अर्यालले बढ्दो सञ्चार माध्यमको विकाससँगै रेडियोहरूको चुनौती थपिए पनि डिजिटल प्रणाली लागु गर्दै रेडियोलाई विश्वसनीय स्रोतका रूपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिए। छिटो सूचना दिने नाममा अपुष्ट, अविश्वसनीय र झुटा समाचार र सूचना दिन नहुने उनको भनाइ थियो ।
उनले रेडियो नेपालसम्म सबैको पहुँच पु¥याउनका निम्ति रेडियो नेपालको डिजिटल प्लेटफर्म ओटिटी एप्स सार्वजनिक भइसकेको समेत जानकारी दिए। रेडियो नेपालले विगत वर्षदेखि नै डिजिटलाइजेशन गरिसकेका श्रव्य सामग्रीहरूको बजारीकरण गरी थप आयआर्जन गर्न ओटिटी एप्स सार्वजनिक गरेको हो।
रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालले गीत–सङ्गीत मनोरञ्जनका साथै समाचारीय सामग्रीलाई समेत अझै प्रभावकारी बनाउँदै लैजाने बताए ।
कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, गोरखापत्र संस्थानका अध्यक्ष विष्णुप्रसाद सुवेदी र विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइँलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
विसं २००७ चैत २० गते विधिवत्रूपमा स्थापना भएको रेडियो नेपाल मुलुककै अग्रणी श्रव्य सञ्चार माध्यम हो । तत्कालीन अवस्थामा प्रचार विभागअन्तर्गत रहेको रेडियो नेपाल विकास समिति ऐन, २०१३ बमोजिम २०४१ साल भदौ १ गते विकास समितिमा परिणत भएको थियो । राष्ट्रिय एकता र समग्र विकासका लागि विश्वसनीय, गुणस्तरीय, अग्रणी, रष्ट्रिय प्रसारण माध्यमका रूपमा क्रियाशील रेडियो नेपाललाई सर्वाधिक श्रोता र प्रसारण पहुँच भएको राष्ट्रिय रेडियो राष्ट्रको सञ्चारका रूपमा विकास गर्ने दूरदृष्टि लिइएको छ ।