काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूलाई नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तव भेट्न पुगेका छन्।
मन्त्रालयमा भेट्न पुगेका राजदूत श्रीवास्तव र उद्योगमन्त्री बडूबीच नेपाल-भारत व्यापार, पारवहन, लगानीलगायत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो ।
छलफलमा नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले विगतदेखि नै नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक, आर्थिक सम्बन्ध प्रगाढ रहेको उल्लेख गरे । यस्तै, ऊर्जा विकास, पारवहन तथा पर्यटन प्रवद्र्धन लगायतका विषयमा दुई देशबीच सहकार्य गरी द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्न सकिने बताएका थिए ।
त्यसैगरी उनले पेट्रोलियम तथा एलपीजी ग्यासको पाइपलाइन विस्तार, खाद्य परीक्षण प्रयोगशाला निर्माण, पश्चिम सेती जलविद्युत आयोजनालगायतका विषयमा छलफल गरे । यसका साथै, आर्थिक तथा व्यापारिक क्रियाकलापसँग जोडिएका पारस्परिक लाभका विषयमा भारतले नेपालसँग थप सहकार्य गर्न चाहेको धारणा राखेको मन्त्रालयले बताएको छ ।
राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल र भारतबीचको सम्बन्धलाई थप मजबुत बनाउन पहल गर्ने उल्लेख गर्दै मन्त्रीबाट सहयोग र समन्वयको अपेक्षा गरेको बताए । त्यस अवसरमा मन्त्री बडूले राजदूत श्रीवास्तवलाई नेपालका लागि भारतको राजदूत नियुक्त भएकामा बधाई दिए । उनले भारतसँग नेपालको सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै द्विपक्षीय सहयोग र सहकार्यबाट दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ गर्न सकिने विचार व्यक्त गरे ।