• मंसिर १४ २०८१, शुक्रबार

पछिल्लो समय बैंकिङ ब्याजदर वृद्धिको कारण मूल्यवृद्धि भयो – अध्यक्ष गोल्छा

असार २६ २०७९, आईतवार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो समय बैंकिङ ब्याजदर वृद्धिको कारण बजारमा मूल्यवृद्धि भएको बताएका छन् ।

आइतबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले अगामी आर्थिक वर्ष मौद्रिक नीतिका विषयमा सुझाव कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन्।

उनले राष्ट्र बैंकले बैंकहरुको ब्याजदर नियन्त्रण गर्न नसक्दा अहिलेको अवस्था आएको बताए। अध्यक्ष गोल्छाले पछिल्लो ६ महिनामा मात्रै बैंकको ब्याजदर दोब्बरले बढ्दा व्यवसायीहरु समस्यामा परेको बताए ।

अध्यक्ष गोल्छाले बैंकले कर्जा प्रवाहमा कडाइ गर्दा सरकारको राजश्व लक्ष्य प्रभावित हुने बताउदै पछिल्लो समय साना र मझौला उद्योगीको स्थिति नाजुक बन्दै गएकाले मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताए।

अध्यक्ष गोल्छाले उद्योगहरुले बैंकबाट कर्जा नपाउँदा व्यवसाय ठप्प रहेको भन्दै अहिले संकटको समयमा केन्द्रिय बैंकले सबै समस्या समाधान गर्नेगरी मौद्रिक नीति ल्याउँछ भन्ने निजी क्षेत्रले अपेक्षा गरेको बताए ।

उनले बैंकको नाफामा कडाइ गर्नुपर्ने, आयातका लागि एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने निर्णय हटाउन माग गर्दै अध्यक्ष गोल्छाले तरलता अभावको कारण बैंकहरुबाट कर्जा प्रवाह नहुँदा अर्थतन्त्र ठप्प हुने अवस्थामा रहेको बताए ।