काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त भएपछि बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद मोहम्मद इस्तियाक राई शनिबार पहिलो पटक गृहनगर नेपालगञ्ज पुगेका छन् ।
नेपालगञ्ज विमानस्थलमा अवतरण हुनासाथ विमानस्थल रहेको वडा नम्बर २० ले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी हुन मन्त्री राई पुगेका हुन् ।
मन्त्रालयको कार्यक्षेत्र सडक निर्माण नै रहेका मन्त्री राई केही समय हिलाम्मे सडकमा पैदलै हिँडेर वडा कार्यालयभित्र प्रवेश गरे । वडा अध्यक्ष कौशल कुमार धोवीले मन्त्री राईको चाहना अनुसार नै पहिलो कार्यक्रम हिलाम्मे सडक भएर राखिएको जानकारी दिए ।
उनी वकरिद मनाउन शनिबार गृह जिल्ला पुगेका हुन् । उक्त अवसरमा मन्त्री राईले जाति, भाषा, धर्म र अवसान भइसकेको मुद्दाको नाममा राजनीति गर्नेलाई बाँकेवासीले सधै अस्वीकार गरिरहेको बताए ।
जनता समाजवादीका नेता राई तेश्रो पटक मन्त्रीमा नियुक्त भएका हुन् ।