काठमाडौं । उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ निश्चित भएता पनि महासचिवलगायत अन्य पदाधिकारी चयनका लागि नेकपा (माओवादी केन्द्र)लाई सकस भएको छ ।
मुख्यतः एक पदमात्र रहेको महासचिवमा वर्षमान पुन र जनार्दन शर्मा दुवैले दावेदारी गरेपछि माओवादी केन्द्रमा पदाधिकारी चयनको विषय सकसपूर्ण भएको हो ।
जसकाकारण गत पुसमा महाधिवेसन सम्पन्न गरेको माओवादीले ५ महिना नाघिसक्दा पनि पदाधिकारी टुंगो लगाउन सकेको छैन ।
मंगलवार र बुधवार भएका छलफलमा सहमतिका आधारमा महासचिवलगायत अन्य विषय टुंगो लगाउने प्रयास गरे पनि पुन र शर्मा दुवै दावेदारी कायम राखे पछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थप दबाबमा परेका छन् ।
‘आज पनि पदाधिकारी टुंगो लगाउने विषयमा केन्द्रीय समिति बैठकअघि आन्तरिक गृहकार्य गर्दछौं, सकेसम्म आजै नाम टुंग्याएर जानेछौं,’ पुर्व कोषाध्यक्ष हरिबोल गजुरेलले भने ।
खुमलटारस्थित प्रचण्ड निवासमा पूर्वपदाधिकारी र पूर्वस्थायी कमिटीको अनौपचारिक बैठक जारी छ । सो बैठकमा दुवै नेताबीच सहमति नभएमा ‘तेस्रो विकल्प’मा शक्तिबहादुर बस्नेतलगायतको नाम अघि सारिने स्रोतले बताएको छ ।
उपाध्यक्षमा श्रेष्ठ निश्चित भएझैँ गणेश साह र कृष्णबहादुर महरा पनि सम्भावित सूचीमा रहेका छन् । त्यस्तै मातृकाप्रसाद यादवले पनि उपाध्यक्षका लागि आफनो आंकक्षा प्रकट गरेका कारण उपाध्यक्ष चयन थप कसिलो बन्दै गएको छ ।
उता, सचिवका लागि पम्फा भुषाल, गिरीराजमणी पोखरेल, देवप्रसाद गुरुङ, लिलामणी पोखरेलको नाम अघि सार्ने सम्भावना देखिएको माओवादी नेताहरुले बताएका छन् । कोषाध्यक्षमा गजुरेलले दोहोरिन सक्ने बताइएको छ ।
माओवादी केन्द्रको विधानअनुसार १५ सदस्यीय पदाधिकारी चयन गर्न पाउने अधिकार भए पनि आवाश्यक्ता अनुसार थप गर्न सक्ने अधिकार केन्द्रीय समितिलाई दिएकाले पदाधिकारी १५ भन्दा बढी हुन सक्ने आंकलन गरिएको छ ।
यद्यपि, प्रचण्डले सहमतिका आधारमा आजको बैठकमा नाम पेश गरे केन्द्रीय समितिको तेस्रो केन्द्रीय समितिको पूर्णबैठकबाट ५ महिनाभन्दा बढी समय रिक्त रहेको पदाधिकारी टुंगोमा पुग्नेछन ।
महासचिव टुंगो लगाएर जान नसकेको खण्डमा पोलिटब्युरो र स्थायी कमिटी सदस्य चयन गरेर अघि बढने योजनामा माओवादी केन्द्र रहेको छ ।