• बैशाख २३ २०८३, बुधबार

अर्थमन्त्रीलाई संसद् बैठकमा आफ्ना कुरा राख्न नदिने, बैठक नै ठप्प पार्ने एमालेको तयारी

असार २२ २०७९, बुधबार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्मालाई आफ्ना कुरा राख्न नदिने तयारी गरेको छ । आज (बुधबार) बस्ने उक्त बैठकमा अर्थमन्त्री शर्माले आफ्ना कुरा राख्ने बताइए पनि एमालेले बोल्न नदिने तयारी गरेको हो ।

आर्थिक वर्ष २०७९/८० को बजेट तयार गर्दा अर्थमन्त्री शर्माले एकजना पूर्वनायब सुब्बालाई करका दरहरू हेरफेर गर्न लगाएको भन्ने आरोप छ । सो आरोपको अर्थमन्त्रीले आज बस्ने बैठकमा खण्डन गर्र्ने बताइएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बुधबार बिहान बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकपछि शर्माले संसद्बाट आफ्ना कुरा राख्न लागेका हुन् ।

बजेट तयार गर्दा अर्थमन्त्री शर्माले एक पूर्वनायब सुब्बालाई करका दरहरू हेरफेर गर्न लगाएको भन्ने आरोप छ । त्यसको प्रमाणिकरणका लागि अर्थ मन्त्रालयको सिसिटिभी फुटेज माग्दा मन्त्रालयले डिलिट भइसकेको गैरजिम्मेवारपूर्ण जवाफ दिएको छ ।

मन्त्रालयको गैरजिम्मेवारपूर्ण जवाफपछि अर्थमन्त्री शर्मामाथि छानबिन हुनुपर्ने र त्यसका लागि उनले राजीनामा दिनुपर्ने प्रतिपक्षी दल एमालेले माग राख्दै आएको छ ।