काठमाडौं । जिल्ला अदालत संखुवासभाले सामूहिक हत्याकाण्डमा संलग्न चार अभियुक्तलाई आजीवन काराबासको सजाय हुने फैसला सुनाएको छ ।
संखुवासभाको मादीमा भएको सामूहिक हत्याकाण्डका अभियुक्तमध्ये चार जनालाई सोमबार अदालतले आजीवन काराबासको फैसला सुनाइएको हो । १७ वर्षीय किशोरलाई भने नाबालक भन्दै अदालतले २५ वर्षको दुई तिहाई अर्थात् १६ वर्ष भन्दा बढी कैदको फैसला सुनाएको छ । अदालतले थुनामा रहेका चार जनालाई आजीवन काराबास र २ लाख रुपैयाँका दरले क्षतिपूर्तिसमेत भराउने फैसला गरेको छ ।
आजीवन काराबास सुनाइएकाहरूमा मादी नगरपालिका–१ उम्लिङ खोलागाउँका खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर कार्की छन् । गत वर्ष भदौ २१ गते संखुवासभाको मादी नगरपालिका–१ उमलिङका एकै परिवारका ६ जनाको हत्यामा भएको थियो । जसमा ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो।