• जेष्ठ १ २०८३, शुक्रबार

राष्ट्रिय आयुर्वेद, प्राकृतिक चिकित्सा तथा योग प्रतिष्ठान स्थापनामा सहयोग गरिनेछ – मन्त्री खापुङ

असार २० २०७९, सोमबार

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले राष्ट्रिय आयुर्वेद, प्राकृतिक चिकित्सा तथा योग प्रतिष्ठान स्थापनाको माग आइरहेकाले त्यसलाई पूरा गर्न सरकारले सहयोग गर्ने बताए ।

नेपाल आयुर्वेद चिकित्सक सङ्घको २५औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा उहाँले आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सालाई प्रवद्र्धन गर्न सरकार लागिपरेको विचार राखे । सिंहदरबार वैद्यखाना विकास समितिमा पहिलेकै जति औषधि उत्पादन गर्न सरकारले आवश्यक सहयोग गर्ने मन्त्री खापुङले प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रिय योजना आयोगका सदस्य उमाशङ्कर प्रसादले अबको दशक आयुर्वेदको दशक भएकाले यस विषयमा अझै खोज र अनुसन्धान गरिनुपर्ने बताए । मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामसुन्दरप्रसाद यादवले उच्च रक्तचाप, मानसिक स्वास्थ्य समस्याजस्ता विषयमा आयुर्वेद उपचार पद्धति प्रभावकारी हुने बताए ।। मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेदिक औषधिले काम गर्ने उनको भनाइ थियो ।

सङ्घका संस्थापक अध्यक्ष डा चन्द्रराज सापकोटाले नेपालमा पाइने प्रत्येक वनस्पतिका पातपातमा पैसा भएकाले नेपाली भिख माग्दै हिँड्नु आवश्यक नभएको बताए । ७७ वटै जिल्लामा आयुर्वेदका विशेषज्ञ चिकित्सकको व्यवस्था गर्न उहाँले सरकारसँग माग गरे ।

कार्यक्रममा सङ्घका अध्यक्ष डा श्यामबाबु यादव, वरिष्ठ उपाध्यक्ष डा शङ्कर गौतम, महासचिव डा कोपिला अधिकारीलगायतले आयुर्वेद चिकित्सकका तर्फबाट मन्त्रालयको ११औँ तहमा नियुक्त गरिने व्यवस्था हटाइएकामा आपत्ति जनाए ।