रौतहट । पर्यटकीय क्षेत्र नुनथर घुम्न आएका दुई भारतीय युवकहरू शनिबार बागमती नदीमा बेपत्ता भएका छन् ।
रौतहटको चन्द्रपुर १ स्थित नुनथर घुम्न आएका उनीहरूसँगै नदीमा परेका एक जनाको उद्धार भएको छ ।
भारतको जिल्ला सीतामडि कोटबजार बस्ने २७ वर्षीय सुमन साह, ३० वर्षीय मयक अग्रवाल र ३० वर्षीय गोलु कुमार बीआर ०१ एचएफ ६६१९ नम्बरको कारमा पर्यटकीय स्थल नुनथर घुम्न आएका थिए। नुनथर क्षेत्र घुमेपछि वाग्मती नदीमा पौडी खेल्न गएका तीनै जनालाई नदीले बगाएपछि दुई जना बेपत्ता भएका हुन् ।
चुरे क्षेत्रमा पानी परेपछि वाग्मतीमा बाढी आएको छ । घटनालगत्तै पौराहीबाट प्रहरी सहायक निरीक्षक गजेन्द्र यादवको नेतृत्वमा उद्धार टोली पुगेको थियो । नदीमा पौडिने क्रममा बेपत्ता भएका सुमनलाई स्थानीयले तत्कालै उद्धार गरेका थिए।
उनलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको प्रहरीले जनायो ।