• मंसिर १० २०८१, सोमबार

राज्यमन्त्री वलीले राजीनामा नदिएको दाबी, मुख्यमन्त्री केसीले राजीनामा स्वीकृत गरेको प्रष्टोक्ति

असार १६ २०७९, बिहीबार

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्वास्थ्य, जनसंख्या, परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी वलीको राजीनामा स्वीकृत भएको बताएका छन् ।

प्रदेश सभाको बुधबारको बैठकमा एमालेले राज्यमन्त्री वलीको बारेमा प्रश्न उठाउँदै सरकारको जवाफ माग गरेपछि केसीले वलीले १२ असारमा दिएको राजीनामा स्वीकृत भएको सदनलाई जानकारी गराए ।

बुधबारको बैठकको सुरुमै एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री वलीका सन्दर्भमा भएका घटनाबारे सरकारको धारणा माग गरेका थिए । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीले त्यसबारे जवाफ दिन मुख्यमन्त्रीलाई समय दिएका थिए ।

मुख्यमन्त्री केसीले छानबिन सहज होस् भनेर राज्यमन्त्रीको राजीनामा आएको र धन्यवादसहित राजीनामा स्वीकृत गरेको बताए । उनले लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले प्रतिवेदन पेस गर्ने चरणमा पुर्‍याएको बताए ।

प्रदेश सरकार मन्त्रिपरिषद्ले बनाएको जाँचबुझ कार्यदलकोे सदस्यमा कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेको समिति बनाएको थियो ।

राज्यमन्त्री वली भन्छिन्–मैले राजीनामा दिएकी छैन

दाङ लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी खत्री वलीले आफूलाई राजीनामा दिन दबाब आएको बताएकी छन् ।

पार्टीभित्रबाट पटक–पटक राजीनामा दिन दबाब आए पनि अहिलेसम्म आफूले पदबाट राजीनामा नदिएको बताइन् । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।