मनसुन सघन हुँदै जाँदा बाढी पहिरोको प्रभाव धेरै देखिन थालेको छ । महाभारतहुँदै चुरे र सबैभन्दा तल्लो तटीय क्षेत्र तराइमा हुने बाढी पहिरो र डुवान आदि अहिले जटिल बनेर देखिन थालेको छ ।
अघिल्ला वर्षहरुमा भन्दा ६० देखि ७० प्रतिशतले पानी बढी पर्ने अनुमान पनि सत्य साबित हुँदै जान थालेको छ । त्यसैले पनि यस वर्ष बाढी अत्यधिक हुने र क्षति पनि ननिकै हुने देखिएको छ ।
वर्षासँगै आएको बाढीका कारण हुन गएको क्षति अवलोकन गर्ने क्रममा भानु नगरपालिका–११ का ढाँडफेदी, सुन्दर बस्ती, टुहुरेपसललगायतका स्थानको अवलोकन गर्ने क्रममा नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले बाढीले क्षति पुर्याएका स्थानमा विना ढिलाइ तटबन्ध निर्माण गर्न जोड दिएका छन् ।
सोमबार अवलोकन तथा निरीक्षण गर्ने क्रममा पौडेलले स्याउदे खोलाको नवनिर्मित पुल क्षतिको अवलोकन, रूपाकोटस्थित सवादीखोलाले बगाएको कजवेको अवलोकन, ढाँडखोलामा आएको बाढीले स्थानीयवासीको घर जोखिम भएको स्थानको निरीक्षण गरेका थिए ।
नेता पौडेलले यही असारभित्रै तारजाली हालेर तटबन्धनको व्यवस्थापन गर्न सम्बन्धित निकायमा निर्देशन पनि दिएका छन् । तारजाली तथा तटबन्ध लगाउँदा हुन गएको र हुन सक्ने जोखिमका आधारमा प्राथमिकीकरण गर्न पनि नेता पौडेलको जोड रहेको थियो ।
स्थानीयसँगको भेटघाटका क्रममा नेता पौडेलले आफूले गर्न सक्ने पहलमा कुनै पनि कसर बाँकी नराख्ने र स्थानीय पनि उक्त काम भए/नभएको कुरामा चनाखो रहन सचेत बनाएका थिए । सिञ्चाइ डिभिजन कार्यालय तनहुँका प्रमुख रमेशराज शर्माले जङ्गलबाट आएको पहिराले ढाडखोला क्षेत्रमा क्षति पुगेको र तत्कालको लागि तटबन्धन निर्माण गरिने कुरा प्राथमिकतामा रहेको कुरा खुलासा गरेका थिए ।
अवलोकन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरे, सिँचाइ डिभिजन कार्यालय तनहुँका प्रमुख रमेशराज शर्मा, कांग्रेस तनहुँका पूर्व पार्टी सभापति रघुनाथ पौडेल, भानु नगरपालिकाका निवर्तमान प्रमुख उदयराज गौलीलगायतको पनि सहभागिता रहेको थियो ।