• मंसिर ७ २०८१, शुक्रबार

बलात्कार मुद्दा कमजोर बनाउन एकाएक वकिलको सरुवा

असार ४ २०७९, शनिबार

काठमाडौं । चार वर्षअघि घरेलु कामदारको रूपमा कञ्चनपुरबाट ल्याएर आफैंले संरक्षण दिएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ललितपुरको इमाडोल बस्दै आएका व्यवसायी सुशील चटौत प्रहरी हिरासतमा छन् ।

उनीविरुद्ध गत वैशाखमा सरकारी वकिल कार्यालयले जिल्ला अदालत ललितपुरमा जबर्जस्ती करणीको मुद्दा दायर भएको थियो । हाइड्रो, होटल व्यवसाय र कन्ट्रक्सनलगायतको व्यवसायमा संलग्न चटौतमाथि बालिकालाई तीन वर्षदेखि बलात्कार गरेको आरोप छ ।

घरमालिकबाटै पटकपटक बलात्कारमा परेकी बालिका प्रहरीको संरक्षणमा पुगेकी थिइन् । त्यसपछि आफूले अध्ययन गर्ने विद्यालय, राष्ट्रिय बालअधिकार परिषद् र बाल हेल्प लाइनको सहयोगमा सिविस नेपालको संरक्षणमा पुगेकी बालिकालाई उनकै आमाबुवाले पीडककै पक्षमा बकपत्र गर्न दबाब दिएका थिए ।

यता सुशील चटौतविरुद्धको बलात्कार मुद्दा हेरिरहेकी ललितपुरकी सरकारी वकिल संगीता थोकरलाई महान्यायाधिवक्ता कार्यालयले असामान्य रूपमा सरुवा गरेपछि यो मुद्दा बाहिर आएको छ । सामान्यतया कुनै पनि सरकारी कर्मचारीको सरुवा दुई÷दुई वर्षमा हुन्छ ।

तर, ललितपुर जिल्लाकी सरकारी वकिल संगीता थोकरको सरुवा बिहीबार १५ महिनामै भयो । बालिकाको मुद्दा कमजोर बनाउनको लागि महान्यायाधिवक्ताको सचिवालयबाट उनलाई पटकपटक दबाब दिइएको थियो ।

मुद्दा कमजोर बनाउन नमानेपछि आफूलाई सरुवा गरिएको उनले बताइन् । उनलाई हेटौंडास्थित मुख्य न्यायाधिवक्ता कार्यालयमा शाखा अधिकृतको कामकाज गर्नेगरी जिम्मा दिइएको छ । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।