• मंसिर ७ २०८१, शुक्रबार

संसदमा अर्थमन्त्रीको राजीनामा माग, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको ध्यानाकर्षण, पार्टीभित्र छलफल

जेष्ठ ३१ २०७९, मंगलवार

काठमाडौंं । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई समावेश गराएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरिएको छ ।

प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरूले शर्माको राजीनामा माग गरेका हुन् ।

एमाले सांसद योगेश भट्टराईले मध्य रातमा पूर्व नायव सुब्बालाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गराएको विषय गम्भीर भएको भन्दै अर्थमन्त्रीको राजीनामा माग गरे ।

बजेट ल्याउने अघिल्लो दिन जेठ १४ गतेको मध्यरातमा अर्थमन्त्री शर्माले पूर्व नासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गरेको विषय बाहिरिएपछि सांसद भट्टराईले अर्थमन्त्रीको राजीनामा माग गरेका हुन् ।

यसैबीच नेकपा माओवादी केन्द्रमा अर्थमन्त्री जर्नादन शर्मालाई फिर्ता बोलाउनेबारे छलफल शुरू भएको छ । पार्टीका शीर्ष नेताहरूका बिचमा अर्थमन्त्रीको काम कारवाहीको विषयलाई लिएर छलफल शुरू भएको बताइएको छ ।

माओवादीका एक नेताले शर्मालाई फिर्ता बोलाउने विषयमा अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराइएको जानकारी दिएका छन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।