काठमाडौं । शृंखलाबद्ध विवादास्पद काम गरिरहेका अर्थमन्त्री जनार्दन शर्मा फेरि विवादमा तानिएका छन् ।
बजेट निर्माणको अन्तिम दिन अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई राजस्वका दर हेरफेर गरेको विषयबारे अन्नपूर्ण पोस्ट दैनिकले सोमबार खुलासा गरेपछि अर्थमन्त्री शर्मा थप विवादमा तानिएका हुन् ।
यसअघि पनि पदीय मर्यादा बिर्सेर विभिन्न विवादास्पद काम गरेपछि उनी आलोचित बनिरहेका छन् । अन्नपूर्णले सार्वजनिक गरेको विवरणअनुसार अर्थमन्त्री शर्माले केही व्यवसायीलाई अनुकूल हुने गरी राजस्वका दरहरू हेरफेर गरेका छन् ।
करको दर हेरफेर गर्न उनले बजेट भाषणको अघिल्लो रात (जेठ १४ गते) राजस्व प्रशासनमा लामो समय काम गरेर अवकाश भएका नायब सुब्बा रघुनाथ घिमिरे र अर्का एक चार्टर्ड एकाउन्टेन्टलाई अर्थ मन्त्रालयमा प्रवेश गराएका थिए ।
उहाँहरू राजस्व विज्ञ हुनुहुन्छ, राजस्वका दरबारे मेरातर्फबाट उहाँहरूले केही फेरबदल गर्न सक्नुहुन्छ, उहाँहरूले जे–जे मिलाउनुहुन्छ, त्यसमै सही गरेर मकहाँ ल्याउनुहोला’ भन्दै अर्थमन्त्रीले बजेट निर्माणमा संलग्न अर्थका अधिकारीहरूलाई निर्देशन दिएको अन्नपूर्णले खुलासा गरेको छ ।
उनीहरूले सीमित व्यवसायीलाई अनुकूल हुने गरी राजस्वका दर हेरफेर गरे, जुन विषयमा अहिले निजी क्षेत्रले समेत विरोध गरिरहेको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।