• मंसिर १० २०८१, सोमबार

इम्बोस्डको एम्बुसमा सर्वसाधारण, नम्बर नयाँ लिए पनि कागजात पुरानै बोक्नुपर्ने 

जेष्ठ २९ २०७९, आईतवार

काठमाडौं । सवारी साधनलाई नयाँ इम्बोस्ड नम्बर उपलब्ध गराइए पनि नवीकरणलगायत कार्यका लागि साविककै सवारी नम्बर आवश्यक पर्ने भएको छ ।

सवारी साधनमा नयाँ इम्बोस्ड नम्बर प्लेट राखे पनि सवारी धनीले ब्लूबुक बोक्नैपर्ने र सवारी साधनको पुराने नम्बरका आधारबाट नवीकरण तथा नामसारी गर्नुपर्न हुँदा इम्बोस्ड नम्बरको उपयोगिता तत्काल देखिएको छैन ।

भेहिकल रजिस्टर प्रणाली (भीआरएस) लागू नहुँदासम्म पुरानै नम्बर आवश्यक रहने यातायात व्यवस्था विभागले जनाएको छ । सवारी साधनमा इम्बोस्ड नम्बर लिएपछि भीआरएसबाट सवारीको अवस्थाबारे अनलाइनबाट हेर्न मिल्छ ।

तर सडकमा ट्राफिक प्रहरीले जाँच गर्दा हाल भएका सबै कागजात देखाउनुपर्छ । विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले हाल सबै कागजात र प्रमाण कागजी फाइलमा रहेको र इम्बोस्ड नम्बर प्लेट लागू भएपछि डाटा केन्द्रीय प्रणालीमा रहने बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।