• मंसिर ७ २०८१, शुक्रबार

जसपा फुट उन्मुख : अध्यक्ष उपेन्द्र यादवविरुद्ध बाबुराम भट्टराई पक्ष हस्ताक्षर संकलन गर्दै

जेष्ठ २८ २०७९, शनिबार

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव असार १ र २ मा विधान अधिवेशन बोलाउन तयार नभएपछि उनीविरुद्ध डा. बाबुराम भट्टराई र अशोक राई पक्षधर केन्द्रीय सदस्यले फेरि हस्ताक्षर संकलन सुरु गरेका छन् । जसपामा अर्का अध्यक्ष पनि नराखे पार्टी फुटाउनेसम्मको तयारीमा उनीहरू जुटेका छन् ।

स्थानीय तहको चुनावअघि नै हस्ताक्षर संकलन सुरु गरिएको थियो । त्यतिबेला असन्तुष्ट पक्षको दबाब थेग्न नसकी अध्यक्ष यादवले कार्यकारिणी समिति र केन्द्रीय समितिको बैठक बोलाएका थिए ।

फागुनमा केन्द्रीय समिति बैठकले असार १ र २ गते विधान अधिवेशन बोलाउने र विधान अधिवेशनबाटै दुई अध्यक्ष राख्ने विषय टुंगो लगाउने निर्णय गरेपछि असन्तुष्ट पक्षधर नेताहरू चुप लागेका थिए ।

त्यो बेला अध्यक्ष यादव एक कदम पछि हटेका थिए । केन्द्रीय समिति र कार्यकारिणी समितिको बैठक नबस्ने अवस्थामा पार्टीले गर्ने हरेक निर्णयमा तीनजना नेता भट्टराई, यादव र राईलाई जिम्मेवारी दिने सहमति गरिएको थियो । तीनजना नेतालाई अधिकार दिएर पार्टी मुख्यालय गठन गरिएको थियो ।

यसैगरी केन्द्रीय समितिले निर्वाचनमा उम्मेदवारको मनोयनपत्रमा पार्टीका तर्फबाट हस्ताक्षर गर्ने अधिकार राईलाई दिएको थियो । त्यसपछि पार्टीमा अस्थायी मेलमिलाप भयो । यसैबीचमा स्थानीय तहको निर्वाचन भयो । निर्वाचनपछि अस्थायी मेलमिलाप भंग भएको छ । यो समाचार नागरिक दैनिकमा छ ।