काठमाडौँ — एक्लै प्रतिस्पर्धा गरेर ५० प्रतिशत पालिका जित्ने दाबी स्थानीय निर्वाचनमा असफल भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो भूमिकामाथि प्रश्न उठाउने नेतामाथि पार्टी अनुशासनका नाममा कारबाहीको डन्डा चलाउन थालेका छन् ।
एक टेलिभिजन अन्तर्वार्तामा अध्यक्ष ओलीले नैतिक रूपमा हारको जिम्मा लिनुपर्ने र राजीनामा गर्नुपर्ने बताएका स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई पहिलो निसाना बनाइएको छ ।
एमालेको अनुशासन आयोगले नेता भुसाललाई ‘विधानअनुसार कारबाही गर्न’ पार्टी केन्द्रलाई सिफारिस गरेको छ । ‘हिमालय टीभीमा एक जना स्थायी कमिटीका सदस्यले अन्तर्वार्ता दिनुभएको थियो, त्यो निकै गम्भीर विषय थियो,’ आयोगका अध्यक्ष केशव बडालले भने, ‘त्यस विषयमा विधिवत्, संस्थागत रूपमा निर्णय गरेर पार्टी केन्द्रमा पठाएका छौं ।’
भुसालले पहिलेदेखि नै प्रतिनिधिसभा विघटन, नेकपा भंग र ओलीको कार्यशैलीमाथि लगातार प्रश्न उठाइरहेका थिए । उनले स्थानीय निर्वाचनअघि वामपन्थी एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका थिए, जसलाई अध्यक्ष ओली र उनको टिमले स्वीकार गरेनन् ।
भुसाल भने टेलिभिजन अन्तर्वार्तामा आफूले नेतृत्वविरुद्ध नभई आन्दोलन र पार्टीका पक्षमा बोलेको बताउँछन् । स्पष्टीकरणबारे औपचारिक रूपमा जानकारी नपाएको पनि उनको भनाइ छ ।
‘मैले टीभीमा पार्टीको भविष्य, वाम आन्दोलन, कम्युनिस्ट पार्टी परम्परा, सहिद र कार्यकर्ताको कुरा गरेको छु । मेरो कुरा आन्दोलन र पार्टीका पक्षमा हो,’ भुसालले भने । आन्दोलन, पार्टी, नेताहरूविरुद्ध व्यक्तिगत रूपमा तथानाम बोलेका व्यक्तिहरूका विषयमा कहिल्यै प्रश्न नउठाउनेहरूले अहिले आफूमाथि प्रश्न उठाएको उनले बताए । ‘अंग्रेजीमा कंगारु कोर्ट भन्छन्, जहाँ आफैंले अदालत गठन गर्ने, न्यायाधीश नियुक्त गर्ने र आफैंले मुद्दा लाउने, आफैंले फैसला गर्ने,’ उनले भने, ‘त्यसो गरेको हो भने एमालेको अनुशासन आयोगको गरिमालाई आयोगकै मान्छेहरूले धूलिसात पार्ने भए भन्ने चिन्ता छ ।’ यो समाचार कान्तिपुर दैनिकमा छ ।