• मंसिर ८ २०८१, शनिबार

स्थानीय तहमा चुनिए ४१ प्रतिशत महिला निर्वाचित, यस पटकको निर्वाचनमा ९ प्रतिशतले बढी

जेष्ठ २३ २०७९, सोमबार

काठमाडौं । स्थानीय तहको निर्वाचनमा ४१.२ प्रतिशत महिला निर्वाचित भएपछि महिलाको प्रतिनिधित्व न्यून रूपमा बढेको छ । स्थानीय निर्वाचन–२०७४ को तुलनामा २०७९ वैशाख ३० मा सम्पन्न निर्वाचनबाट चुनिएका महिला १ प्रतिशत बढी छन् ।

सत्ता साझेदार पाँच दलीय गठबन्धनका कारण महिलाको प्रतिनिधित्व घट्ने अनुमान गरिए पनि न्यून रूपमा बढी नै निर्वाचित भए । बाध्यात्मकबाहेक प्रमुख पदमा महिला जनप्रतिनिधिको संख्या केही बढेको हो । यसपटक देशभरबाट १४ हजार ४ सय २ महिला जनप्रतिनिधि निर्वाचित भएका छन् ।

गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा गरी प्रमुख पदमा २५ महिला विजयी भएका छन् । २०७४ सालमा प्रमुख पदमा १८ महिला निर्वाचित भएका थिए। यसपालि ७ सय ५२ स्थानीय तहमा ३४ हजार ९ सय ५३ जनप्रतिनिधि निर्वाचित भएका हुन् । बाजुराको बुढीगंगा नगरपालिकामा भने निर्वाचन हुन बाँकी छ ।

निर्वाचन आयोगको तथ्यांकअनुसार अघिल्लो निर्वाचनमा भन्दा यसपालि ५३ महिला बढी जनप्रतिनिधिमा चुनिएका छन् । विवादका कारण रोकिएको बुढीगंगामा निर्वाचन आयोगले पुनः निर्वाचन गर्न भनेको छ । तर दलीय सहमति नजुट्दा निर्वाचन मिति टुंगो लागेको छैन । त्यहाँ निर्वाचन भएपछि महिला जनप्रतिनिधि संख्या केही बढ्नेछ ।

जनप्रतिनिधिमा महिलाको संख्या न्यून रूपमा बढी देखिए पनि बाध्यात्मक पदबाहेकका पदमा पनि महिला उल्लेखनीय रूपमा वृद्धि हुन सकेको देखिन्न । यसपटक देशभरबाट महिला उम्मेदवार ५५ हजार ६ सय ९९ जना थिए । विभिन्न पालिकाका वडामा १ सय २३ दलित महिला सदस्य पद खाली छ ।

अनिवार्य गरिएका पदमा दलहरूले उम्मेदवार अघि सार्न नसक्दा र स्वतन्त्र उम्मेदवारी दिने पनि कोही नहुँदा ती पद खाली भएका हुन् । कतिपय स्थानमा दलितको बसोबास नहुँदा उम्मेदवारी नै नपरेको निर्वाचन आयोगको भनाइ छ । यो समाचार नागरिक दैनिकमा छ ।