• मंसिर ८ २०८१, शनिबार

कार्यपालिकाको चुनावमा सत्तासाझेदार दल जसपा र प्रतिपक्षी एमालेको गठबन्धन, कांग्रेसका उम्मेदवार पराजित

जेष्ठ २१ २०७९, शनिबार

काठमाडौं । सत्ता साझेदार पाँच दलीय गठबन्धनको सम्झौता विपरीत जसपाले एमालेसँग गठबन्धन गरेर महागढीमाई नगरपालिकाको कार्यपालिका सदस्याको चुनावमा नेपाली कांग्रेसको उम्मेदवारलाई पराजित गराएका छन् ।

८ जना कार्यपालिका सदस्य निर्वाचित हुने निर्वाचनमा नेपाली कांग्रेसले एमाले समाजवादीसँग गठबन्धन गरेर निर्वाचनमा भाग लिएको थियो ।

शुक्रबार गरिएको कार्यपालिका सदस्यहरुको मतदानमा कांग्रेसबाट नगरको उपप्रमुखमा निर्वाचित बनेकी तारा देवीको अन्तर्घात र एमाले–जसपा गठबन्धनको कारणले कांग्रेसका उम्मेदवारहरु पराजय भोग्नु परेको कांग्रेस पार्टीबाट निर्वाचित महागढीमाई नगर प्रमुख उपेन्द्रप्रसाद यादवले आरोप लगाएका छन् ।

कार्यपालिका सदस्यको लागि जसपा मधेश प्रदेश अध्यक्ष रामबाबु यादव, नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादवको डिजाईनमा नै पाँच दलीय गठबन्धन विपरीत गएर एमालेसँग निजी स्वार्थको लागि गठबन्धन गरेर कांग्रेस–एमाले समावादी पार्टीका उम्मेदवारलाई हराउन काम गरिएको उनले आरोप लगाए ।

५७ सदस्यीय नगरसभा सदस्यहरु मध्ये नेपाली कांग्रेससँग २३ सदस्य, एमाले समाजवादीसँग ५ गरेर आफूसँग २८ जना रहेको थियो नगर प्रमुख उपेन्द्र यादवले बताए । जसपासँग १३ र एमालेसँग १६ गरेर उनीहरुसँग २९ सदस्य रहेको थियो । यो समाचार नागरिक दैनिकमा छ ।