• मंसिर ८ २०८१, शनिबार

बहुचर्चित बतासकाण्ड : पशुपति धर्मशालामा सञ्चालन गरिएको होटेल बन्द हुने, अल्पकालीन अन्तरिम आदेश खारेज 

जेष्ठ १९ २०७९, बिहीबार

काठमाडौं । बतास अर्गनाइजेसनअन्तर्गतको होटेल आनन्दले पशुपतिस्थित नेपाल–भारत मैत्री धर्मशालामा होटेल चलाउन नपाउने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले गरेको आनन्दसँगको लिज सम्झौता खारेजको निर्णयलाई जिल्ला अदालत काठमाडौंले सदर गरिदिएपछि उसले होटेल चलाउने ढोका बन्द भएको हो ।

न्यायाधीश विनोदकुमार पोखरेलको एकल इजलासले बुधबार यसअघि (२५ चैत)को अल्पकालीन अन्तरकालीन आदेश खारेज गरिदिएको हो । करार उल्लंघन भएको र करार परिपालना गराउन एक पक्ष बाध्य हुन नसक्ने भन्दै अदालतले यसअघिको आदेश खारेज गरेको हो ।

करार भंग भइसकेको अवस्थामा प्रस्तुत मुद्दा २४ चैत ०७८ मा दायर हुन आएको र करार उल्लंघन भई करार बदर भइसकेको अवस्थामा करार परिपालना गराउन एक पक्ष बाध्य हुन सक्ने देखिँदैन,’ अदालतले भनेको छ, ‘तसर्थ प्रतिवादी पक्षबाट करार भंग गरिसकेको स्थितिलाई वादी पक्षसमेतले स्वीकार गरिरहेको पाइन्छ ।

तसर्थ भंग भइसकेको करारलाई यथावत् पालना गर्न मिल्ने अवस्था कानुनतः देखिन आएको स्थिति नभएबाट मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५६ बमोजिम जारी भएको अन्तरकालीन आदेश कायम रहन सक्ने देखिएन । अतः उक्त आदेश बदर गरिदिएको छ ।’

अदालतले ३० वैशाख ०७६ मा भएको करार सम्झौताको परिपालन दोस्रो पक्ष वादीले नगरेको कारणबाट पहिलो पक्ष प्रतिवादीतर्फबाट १४ चैत ०७८ मा करार भंग गरी दोस्रो पक्षलाई सोको जानकारी दिएको देखिएको पनि फैसलामा उल्लेख गरेको छ ।

सम्झौता नै अवैध रहेको र आनन्दले सम्झौताविपरीत काम गरेको भन्दै कोष सञ्चालक परिषद्को गत १४ चैतको बैठकले सम्झौता रद्द गरेको थियो । स्पष्टीकरणसमेत पेस नगरेको आनन्दले सम्झौता रद्दको पत्र नबुझेपछि गत २० चैतमा कोषले ताला लगाएको थियो ।

कोषले धर्मशाला सञ्चालनको जिम्मा नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान ९नाथम०लाई दिने निर्णय गरिसकेको छ । कोषका कोषाध्यक्ष नारायण सुवेदीले राज्यको सम्पत्ति संरक्षण गर्ने दायित्व कोषको रहेको र अदालतको आदेशबमोजिम प्रक्रिया अगाडि बढ्ने बताए । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।