काठमाडौं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–३ मा मतपत्र च्यातिएपछि मत गणना रोकिएको छ ।
वडाको मत गणना गर्दा नेपाली कांग्रेस र माओवादी केन्द्रका वडाध्यक्षमा उमेदवारको बराबर मत भएपछि कांग्रेसका तर्फबाट पुनः मत गणना माग भएको थियो । पुन: गणनाका क्रममा करिब ३०० मत गनिसकेपछि कांग्रेसका प्रतिनिधिले बदर भनेर राखिएको दुई थान मतपत्र तानेर च्यातेका थिए ।
मतपत्र च्यातिसकेपछि हाल मतगणना स्थगित भएको छ । प्रहरी नायव उपरीक्षक सुकदेव खनालकाअनुसार कांग्रेसका जिल्ला सचिवसमेत रहेका राजकुमार ढुंगानासहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई कारबाही गर्ने नगर्ने बारेमा निर्वाचन अधिकृतको कार्यालयको आदेश बमोजिम हुने प्रहरीले जनाएको छ ।