मे ८ लाई रेडक्रस दिवसको रुपमा हेर्ने गरिएको छ । हिजो मात्र यो दिवस संसारभर मनाइएको पनि छ । परोपकार भनौँ सेवा नै धर्म हो, दिवसको सार्थकता यसैमा छ । पूर्वीय दर्शनमा जति परोपकारका आदर्शहरु सायदै अन्यत्र होलान्, त्यसैले त वेदका विभाजनकर्ता, महाभारतदेखि अठार पुराणका रचयिता वेद व्यासले भन्नु भएको छ ।
अष्टादश पुराणेषु व्यासस्य वचनं द्धय । परोपकार पुण्याय पापाय परपीडनम् ।
अर्थात् सवै पुराणको सार भन्नु परोपकार नै हो, त्यही पुण्य हो र अरुलाई पिडा दिनु नै पाप हो । ईश्वरको शब्दमा अहं सर्वेषु भूतेषु अर्थात् म सबै प्राणीको अन्तर हिर्दयमा बस्छु । मैले बनाएको मन्दिर हो यो, म आफ्नै मन्दिरमा बस्छु, हे मानव ‘तिम्रो शरिर मेरो मन्दिर हो, तिमीले बनाएको सुनका गजुर सहितको मन्दिरमा मलाई बस्न बाध्य छैन, कारण त्यही मन्दिर बाहिर बस्ने मेरै रुपका दीन, दुखी, असहाय, अपाङ्ग, पीडितलाई तिमी लत्याउँछौ, प्राणीको गला रेट्छौ’ । यही बुझेर होला महाकवि देवकोटाले भने,
‘हाडहरुका सुन्दर खम्बा मांस पिण्डका दिवार, नसा नदीका तरल तरँग मन्दिर आफै अपार’ ।
हिजो संसारलाई कोरोनाले डल्लो पारेको थियो, आज पनि चीन त्रसित छ । विज्ञानको चमत्कार हुँदा पनि एकै वर्षमा ३२ लाखसम्म मरे, मानिसको जीवन कति क्षणभंगुर छ । हाम्रा २ छिमेकीबाट निस्केको कोरोनाको मुस्लोले हजारौँ हाम्रै नेपालीलाई निल्यो ।
उपकारको आदर्श भन्नु नै हर प्राणीप्रति दया हो । ईश्वरप्रतिको याद बिना दयाको अर्थ रहन्न । मुखमा राम बगलीमा छुरा भनेझैं आदर्श बोक्नेहरुले नै पीडाको घाउमा मलम लगाउन नसक्दा नेपालीहरु स्वदेश विदेश दुबैतिर छट्पटिए । कहिले भूकम्प, कहिले चट्याङ, कहिले हुरीबतास, कहिले आगलागी र बाढीपीडित, कहिले सशस्त्र द्धन्द त कहिले झाडावान्ता, कहिले कोरोना के के हो के के नेपालीमाथि परेको संकट भनौँ पिडा ! जब जव संकट आउँछ, यसैमा दाउ हान्नेहरुको भीड पनि कमी छैन देशमा ! अभिभावको भूमिका समेत नदेखिएको अवस्थामा आदर्शका कुराले रोग, भोक, शोक त टर्दैन तथापि मनको बह कहँदा, सुन्दा, पढ्दा केही हलुको सम्म हुन्छ ।
विश्व युद्धमा धेरै घाइते भए । कतै पक्ष, विपक्षको गन्ध नलिई घाइतेको उपचारमा संलग्न प्mलोरेन्स नाइटिंगेलको नाम नसुन्ने सायदै कोही होलान् ।
मलम लगाउ आर्तहरुको चहर्याइरहेको घाऊ, यही त हो मानवीयता भनौँ समाजको सेवा । दे उताको नाम देवता हो, जोे आफ्नो स्वार्थका लागि मात्र बाँच्छ ऊ जीउँदै मरेतुल्य हुन्छ । सद्गुण र सदाचार बजारमा किन्ने विषय होइनन्, मानव सर्वस्व हो यो, भनौँ उसको सन्चित धन ! त्यसैले त हाम्रा अग्रजहरुले भने दया हो पृथ्वीको भव जलधिको मुख्य तरणी ।
कोरोना उपचारमा कमिसन, ठेक्का पट्टा, आफू आफन्त मोटाउने अरुप्रति निर्दयी हुने अवस्था, उठेको करबाट राहतप्रतिको बेवास्ता, घरभित्रै थुनिएर, निसासिएर मर भनेको अवस्थाले हामीलाई अभिभावक नभएको महसुस भयोे, विगतका दिनहरु यस्तै चर्को अवस्थाबाट गुज्रेका हुन् हाम्रा !
हाम्रो देशमा सविंधानले सामाजिक सुरक्षाको हकलाई मौलिक हकको रुपमा हेरेको हो । तर बाँच्न पाउने हक भने व्यवहारतः सुरक्षित छैन । बेरोजगारी समस्या विकराल छ । समावेशी विकास, दिगो विकास सरकारी नारा कागजमा सीमित छ । कोही बलात्कृत भएर मर्छन् यहाँ, कोही मानव निर्मित साधनबाट दुर्घटना भएर, कोही एसिड छरिएर भने कोही अनायासै आएको संक्रमणबाट ! अशक्त, असहाय, दीन, दुःखी, गरीब, विपन्न, वृद्ध–वृद्धाको हालत त झन् खराब छ ।
आर्थिक रुपले अशक्त, विपन्न, असहायको कथा र व्यथा आफ्नै छ । अपाङ्ग, एकल, बालबालिका, किशोर, किशोरीको दुर्दशा हरिबिजोग छ । अन्तर्राष्ट्रिय संघ–संस्था, समूह सरकारसँग देशले गरेको प्रतिबद्धता, सन्धी, महासन्धी कति छन् कागजमा, कति छन् पुस्तकालयहरुमा । सरकारी निकाय मात्र होइन गैरसरकारी निकायहरुले नेपाली मुद्रा मात्र होइन हरिया डलर खर्चेका छन्, धेरै यी र यस्तै विषयमा ! वर्षैपिच्छेका योजना र कार्यक्रममा पनि यी विषय परि नै रहन्छन् ।
लैंगिक, जातीय छुवाछुतको अन्त्य हुनु पर्ने हो अर्थात् सामाजिक विभेदको अन्त्य हुनुपर्ने हो । युवा परिचालनबाट मानवीय सेवा, विपद् व्यवस्थापन, वातावरण संरक्षण र वृक्षरोपण जस्ता व्यवहारिक कार्यक्रम सञ्चालन हुनु पर्ने हो । हिंसा पीडित महिलाहरुको उद्धार र राहत, मनो सामाजिक परामर्श र कानुनी सरसल्लाह, पुनःस्थापना केन्द्रहरुबाट उचित लाभ प्राप्ति हेतु लक्षित कार्यक्रम सञ्चालन गरिनु पर्ने हो । महिला विरुद्ध हुने हिंसा अन्त्य हुनु पर्ने हो । बालविवाह, तिलक, दाइजो प्रथा, छाउपडी एवम् बोक्सी जस्ता कुरितीको अन्त्य हुनुपर्ने हो । सामुहिक उन्नयनमा सरकार पछि नहट्नु पर्ने हो ।
बालश्रमको अन्त्य हुनु पर्ने हो । सबैको, श्रमको महत्व र मूल्यांकन हुनु पर्ने हो । बचतको भावनाबाट लगानीको वातावरण तय गर्नु पर्ने हो । सडक बालबालिकाको उद्धार, विद्यालयमा छात्रवृत्ति, पोशाक, खाजा, यातायातको व्यवस्था गर्नु पर्ने हो । मानसिक रोगी, टुहुरा, असहाय, बालबालिका, वृद्ध, अपाङ्ग व्यक्तिहरुको हेरचाह र सुरक्षा अझ बढी जरुरी हुनु पर्ने हो, समग्रमा भन्नुपर्दा सबैको आत्मिक उन्नतिबाट मुलुक समृद्ध हुनु पर्ने हो । लोक कल्याणकारी राज्यको यही परिकल्पना हो ।
पूर्वीय धर्म–दर्शनले जुन सभामा वृद्धहरुको उपस्थिति हुँदैन । त्यो असलमा सभा हुनै सक्तैन भनेको छ ।
त्यस्तोे परिवारलाई राज्यले, समाजले सम्मान दिनु पर्ने हुन्छ । परित्यक्त, हिंसा पीडित, शारीरिक र मानसिक रुपले अशक्तहरुको अझ विशेष ख्याल गरिनु पर्ने हुन्छ । विपद् जोखिम, भुकम्प, वाढी पहिरो, हावाहुरी, चिसो, तातोको ख्याल गरिनु पर्ने हुन्छ । समयमा औषधिमूलो, अस्पताल सेवा घरैमा चिकित्सकका सल्लाहको आवश्यकता पर्ने हुन्छ । यसका लागि ज्येष्ठ नागरिक क्लब, दिवा सेवा केन्द्र, ज्येष्ठ नागरिक समूह गठन र सञ्चालन जस्ता कार्यक्रमले सार्थकता पाउन सक्छन् ।
सबै ज्येष्ठ नागरिकले सुरक्षित र सम्मान जनक अवस्थामा आफ्नो जीवनयापन गरेको महसुस हुने वातावरण तय गरिनुपर्छ, यो राज्यको दायित्व हो । हामीकहाँ अशक्त हरुको संख्या पनि कम छैन । झण्डै दुई प्रतिशत जनता अपांग छन् । अपाङ्ग मध्ये पनि शरीरको अपाङ्गता बढी छ । झण्डै सत्तरी प्रतिशत शारीरिक अपाङ्गका छन् । तीमध्ये संविधानले यस्ता व्यक्तिहरुको पनि संरक्षणको परिकल्पना त गरेको छ, तिनको सेवा सुविधाको पहुँचको स्थापना गर्न खोजेको छ ।
अन्तर्राष्ट्रिय प्रतिवद्धताहरुलाई पनि राज्यले स्वीकारेको छ । सरकारले समुदायमा आधारित समावेशीकरण गरेको भनेको छ । निजामती सेवामा आरक्षणको व्यवस्था गरेको छ । सामाजिक सुरक्षा भत्ता, व्यवसायिक तथा सीपमूलक तालीमका प्रावधानहरुलाई प्रयोगमा ल्याएको भनेको छ । तथापि पेशागत भौतिक संरचनाहरुलाई अपाङ्ग मैत्री बनाउन सकेको छैन कोटेश्वर, कलंकी सडक हेर्दा हुन्छ ।
दुर्गम क्षेत्रमा यसको दायरा बढाउन सकेको छैन । अपाङ्गहरुप्रति समाजको सकारात्मक दृष्टिकोण स्थापित गराउन सकिरहेको छैन । हरेक प्रकारका अपांगता भएका व्यक्तिहरु सक्षम स्वावलम्बी र आत्मनिर्भर बनाउने राज्यको सपना अधुरो छ । उपकारमा नै अमृतको वास हुन्छ ।
उपनिषद्को सार पनि अमृतत्वेन गम्यात् नै हो । उपकारी व्यक्ति तपस्वी हुन्छ । कुभाषण, भोगको इच्छा, कामाशक्ति, गुणमा दोषदृष्टि, दोषमा गुण दृष्टि, तृष्णा, लोभ, चुक्ली, निन्दा, हिंसा, क्रोध, शोक, चिन्ता, कर्तव्यको विस्मृति, डाह, इष्र्या, सन्ताप, ज्यादा बोल्नु सत्पुरुषको भनौँ जितेन्द्रीय व्यक्तिको लक्षण होइन । मदका यी दोषलाई त्याग गर्नाले व्यक्ति समाज भित्रै तपस्वी बस्न सक्छ । जीवले जगत् बुभ्mनु पर्ने हुन्छ ।
जीव र जगत् दुवै परमात्माको असल अभिव्यक्ति हो । सुन्दर अभिव्यक्ति हो । चेष्टाबाट रहित हुँदा ईश्वरत्व प्राप्ति हुन्छ । कायेन, मनसा, वाचा अर्थात् मन, वचन र कर्मले परोपकारी हुनु पर्ने हुन्छ । नदी जसरी सलल वगेको हुन्छ । ज्ञान र वैराग्यरुपी बालुवामा भक्तिरुपी गंगाको प्रवाह भएझैं जीवनलाई प्रवाह गर्न सकेमा ईश्वर खोज्न टाढा जानु पर्दैन । दश दिशा घुमेर ईश्वर भेटिन्न र हाम्रा महाकवि भन्छन् –
ईश्वर वस्तछ गहिराइमा खोजी हिँड्छौं कुन पुर ?
वेत्ता वा विद्धान् त्यही हो जसले भगवत् सेवा गर्छ । जीव र जगत् के हो, आफू को हुँ आफ्नो श्रोत के हो ? गन्तव्य कहाँ हो ? बाटो कुन हो ? आप्mनो बाटो आफैंले निर्माण गर्नु जरुरी छ । सत्संग नै एउटा बाटो निर्माणको थालनी हो । निस्वार्थकार्य बाटो निर्माणको थालनी हो ।
कर्म गर फलको आश नगर भन्ने गीताको सन्देश हो । ज्ञानको उदात्तभावले दिव्यचक्षु खुल्छ । चर्म चक्षुले यथार्थ देख्दैन । चर्मचक्षु दिव्यचक्षु होइन ।
“असतो मा सत् गमय, तमसो मा ज्योर्तिगमय, मृत्यो मां अमृतम् गमय” भनेको त्यही हो ।
अर्थात् असत्यलाई सत्यतिर, अन्धकारलाई उज्यालोतिर, मृत्युलाई अमरतातिर लग भनेको हो । आत्मज्ञानी पुरुषले ईश्वरसँग साक्षात्कार गर्न सक्छ । सच्चिदानन्द स्वरुप, पूर्ण ब्रह्म परमात्मा परमेश्वर आफैँभित्र हुनुहुन्छ । चित्स्वरुपबाट हामी चलायमान हुन सक्छौं ।
ईश्वरको अस्तित्व जीवबाट मेटिंदा ऊ मुढ बन्न पुग्छ । नश्वर शरीर तुरुन्तै ढल्छ । सत् चित् र आनन्द स्वरुपले ईश्वर मानव शरीरमा लुकेर बसेको हुन्छ । तपमा रहने व्यक्ति सत्पुरुष हो । त्यसलाई धार्मिक भनिन्छ । मानव देह नै धर्मको अभिव्यक्ति हो, पुण्यको अभिव्यक्ति हो । धर्म, पुण्य संचिति विना मानव देह प्राप्त नै हुँदैन । सत् ज्ञानको फल तत्कालै प्राप्त हुन्छ । विज्ञानझैं तुरुन्तै त्यसको असर पनि मिल्छ, अर्थात् परिणाममुखी हुन्छ । रेडक्रस जस्ता दिवसहरुको सार्थकता यही हो ।