पाँच वर्षे नयाँ कार्यकालका लागि स्थानीय तह सरकार प्रतिनिधिको चयनका लागि मतदान हुन मात्र थोरै दिन बाँकी छ । मतदाताहरूले यति बेलासम्म आफ्नो मत कसलाई दिने भनी आत्मनिर्णय लिन थालिसकेका छन् ।
अर्को तर्फ, उम्मेदवारहरू निरन्तर घरदैलो अभियानमा छन् । आआफ्ना संभावित मत बाहेक निर्णायक मत कसरी लिने भन्ने चिन्तामा उनीहरू देखिन्छन् । मतदान हुने दिन आउँदा बखतका अघिल्ला दिनहरूसम्म हुने उम्मेदवारहरूको दौडधूपले यही कुरा देखाइरहेको छ ।
जनता अझैँ पनि सबैका कुरा सुनौ भन्ने साझा सोचमा छन् । उनीहरू पनि देशमा चुनावको माहोल बनिरहेको आँकलन र अनुभूति गरिरहेका छन् । स्थानीय निर्वाचनको प्रचारदेखि मतदानसम्मको समय एक महिना मात्र रहे पनि जनस्तरबाट यति छोटो समयमा निकै परिपक्वता प्रकट हुनु खुशीको कुरा हो ।
जनतामा सापेक्षतामा राजनीतिक रूपान्तरण आएको देखिन्छ । तर राजनीतिक दल र तिनका नेताहरूमा भने पुरानै धङधङीले काम गर्न छाडेको देखिदैन । आफू सम्बद्ध पार्टी पनि समयानुकूल परिवर्तित परिस्थितिलाई सम्बोधन गर्न सक्ने एजेण्डा र कार्यक्रमहरू लिएर आउन् भन्ने चाहिरहेका छन् मतदाता ! उनीहरू आआफ्ना पार्टी नीति, विचार र नैतिकतामा अब्बल रहेको हेर्न चाहिरहेका छन् ।
निर्वाचन आचारसंहिता लागिरहेको छ । तर राजनीतिक दलहरू एकअर्कालाई गालीगलौज गरिरहेका छन् । एकले अर्काको कद होचो देखाएर आफू अग्लो भएको भ्रममा पार्न कोसिस गरिरहेका छन् । यो जनतालाई मन परिरहेको छैन ।
किनकि, यी सबै दलका शीर्ष भनिने नेताहरू नेपालको राजनीतिमा ‘टेस्टेड’ पात्रहरू हुन् । कसैले पानीले पनि ननुहाएको र कसैले दुधले नुहाएको भिन्न अवस्थामा छैनन् र होइनन् पनि । देश बिगारेका यी सबैले हुन् । जनतालाई ढाँटेका यी सबैले हुन् ।
जनताले सबैको नियत राम्रैसँग बुझिसकेका छन् ।
नेपालका राजनीतिक दलका नेताहरू छट्टु छन् । इमान र प्रतिबद्धता यिनका लागि ७ समुद्र पारिको कुरा जस्तो भएको छ । यही कारणले पनि राजनीतिक दलका नेताहरू राजनीतिक गठबन्धनको सिन्डिकेट खडा गरेर भए पनि जनतामाथि शासन गर्न उद्धत हुँदै गएका छन् ।
विचार, आस्था र प्रतिबद्धता यिनका लागि ‘घाँडो’ हुन पुगेको छ । पछिल्लो समयमा त जनताका लागि सेवा, सुविधा र देशको हितमा यिनीहरूको ध्यान कमै गएको देखिन्छ । क्षणभर पनि सत्ता र सरकार बाहिर रहँदा बालुवामाथिको माछा झैँ छटपटाउने अवस्थामा पुगेका देखिन्छन् ।
विचार पातलिँदै जानु, संगठनमा अवसरवाद हाबी हुनु, गुटको राज चल्नु, देश र जनताप्रतिको जिम्मेवारी बोध नहुनु, वैयक्तिक स्वार्थहरूले घर गर्दै जानु तथा बाह्य शक्तिको प्रभावमा फस्दै र भूमरीमा पर्दै जानुले नेपालको राजनीतिक विशिष्टतामा ह्रास आउँदै र नेताहरू पनि विराना हुँदै जान थालेको बोध जनताले अनुभूत गरिरहेका छन् ।
अहिले त यस्तोसम्म पनि आइसकेको छ भने राजनीतिक दलको त हैसियत हराउने पो हो कि भन्नेसम्मको अवस्था देखा परिरहेको छ । आफूलाई गठबन्धनका उम्मेदवार घोषणा गरिरहेकाहरूलाई पनि स्वतन्त्र उम्मेदवारहरूले बर्खामा भैँसीले दाम्लो बाँधिएको किलो हल्लाए झैँ यता न उति हल्लाउने हैसियतमा पुर्याएका छन् ।
यी स्वतन्त्र उम्मेदवारहरू गठबन्धनका उम्मेदवारहरूलाई ठाडै चुनौती दिने अवस्थामा पुगेका छन् । सामान्य अवस्थामा एउटा स्वतन्त्र उम्मेदवारसँग दलका उम्मेदवार अझ त्यसमा पनि गठबन्धनका उम्मेदवारको त तुलना कसरी गर्न सकिन्छ र ? तर भएको छ यस्तै ।
स्वतन्त्र उम्मेदवारहरूप्रति देखिएको जनलहरले कतै यही व्यवस्थाभित्रै अर्को विकल्प खोज्ने अवस्था सिर्जना गर्ने पृष्ठभूमि तयार पारिरहेको त छैन ? यो कुरामा राजनीतिक दल र यिनका शीर्ष नेताले समय छदैँ हेक्का राखी बेलैमा सतर्क हुन जरूरी छ । आफ्ना कमी कमजोरी सच्याएर जनताका बीचमा जानका लागि अप्ठ्यारो मान्नु हुँदैन ।
त्यसैले राजनीतिक दलका नेताहरू एक अर्कालाई गाली गरेर विद्रुपीकरण गर्नेतिर होइन, संयमताका साथ अघि बढ्न र देश तथा जनता सम्हाल्ने हैसियत आर्जन गर्न प्रजातान्त्रिक र स्वस्थ प्रतिस्पर्धालाई अङ्गीकार गर्न सक्नै पर्छ ।
सधैँ जितपछि जित र सधैँ हारपछि हार कसैको पनि हुँदैन । स्थानीय निर्वाचनपछि प्रादेशिक र सङ्घीय निर्वाचन आउँदै छ । धैर्यताका साथ काम गर ! होइन भने छोटो समयमै राज्यसत्ताको भोगभाग पनि उत्रन बेर हुने छैन ।