• मंसिर ११ २०८१, मंगलवार

लोकतन्त्रका उपलब्धिलाई फर्केर हेर्दा !

बैशाख २४ २०७९, शनिबार

चितवनमा चुनाव प्रचारमा आउन लागेको भन्दै प्रधानमन्त्री विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा आचारसंहिता बारे उजुरी परेछ । भरतपुर यसपाली चुनावको एपिसेन्टर बनेको छ । आचरण, आचार भएन भने कुनै पनि कामको परिणाम क्षणिकमा मात्र राम्रो हुन्छ । त्यसो त वेदले आचारहीनः पशुभिःसमान भनेको छ ।

आचार, आचरण, उपासना, साधना, अनुशासन भन्नु उस्तै उस्तै विषय हो तर आक्रोश भएका बेला मान्छेले वेद कहाँ पढ्छ । काष्ठमण्डप एउटै रुखको काठले बनेको रहेछ, अब त्यो सम्भव भएन नि, उद्घाटनै भइसक्यो, अदालतमा मुद्दाको पेशी छ अलि पछि नै हो, त्यतिबेला नै जवाफ दिउँला ।

त्यसो त पशुपतिमा पनि जलहरी विवाद मुद्दा अनि चिठी आउँदा आउँदै जडान । वेदले नेपाललाई धर्मभूमि भनेको छ, तैपनि हामी मजासँग धर्म निरपेक्ष भन्छौँ, पशुपतिमा जानै मन लाग्दैन । कुन प्रोटोकल, कुन के हो हिन्दु धर्मको हिमायती मित्रकहाँ गएर खुट्टा पसार्छौ, राखी पनि बाँध्छौ, पार्टी कार्यालय हो कि सद्भावना वा औपचारिक के हो भ्रमण कुन दर्जाकालाई कुन दर्जाकाले एयरपोर्टमा लिन आए वा यसअघि उत्तर छिमेकीलाई एयरपोर्ट लिन र छोड्न जाँदा कुन दर्जावालको प्रयोग भयो त्यसको लेखाजोखा गर्ने समय भए पो र !

अप्रिल फुल त्यसै भन्या हो त । गंगा आरती, हनुमान, विश्वनाथ सबै बाबाहरुको दर्शन भएपछि अब देशमा भनेजस्तो वरदान मिल्ने भयो यो अति राम्रो कुरा भयो । खरिदार सुब्बा सरकारी काजमा बर्दिया, कञ्चनपुर काज गएभने हरिद्धार दर्शन नगरी काज फिर्ता हुन्नन्, देशका कार्यकारी प्रमुखले यतिविघ्न धर्म गर्न नपाउने ?

त्यो पनि जोडी नै हो क्यारे । संयोग पनि कस्तो ३ महिने शासनकालको प्रगतिमा चुच्चे नक्सा नहुनु अनि उता दूतावासमा राखेको झण्डै २ दर्जन चुच्चे नक्सा बुच्चे भइदिनु ईश्वरीय कृपा जे वरदान माग्यो त्यही पाउने देवतालाई धन्यवाद दिनु परेन ? यताबाट दुई देशका संयन्त्र मार्फत् भने जस्तो उताबाट मौनता जस्तो दैवलीला के जान्ने ?

वस्तु विलासिताका सामान आयातमा रोक लगाएको महिनौँ भयो  अझै डलर छैन त अब निजी गाडीलाई आयातमा एलसी खोल्न कडाइ राष्ट्र बैंकका गभर्नर होइन अन्य अधिकृतहरुले आदेश दिएछन्, राम्रै भयो । होइन श्रीलंका टाट पल्ट्यो रे, २६ जना मन्त्रीहरुले मात्रै होइन केन्द्रीय बैंकका गभर्नरले पनि राजीनामा दिएछन् । जनता ढुंगा हान्न आएपछि गर्ने के, खान नपाएर सिद्रा हुनु परेपछि रिसाएका बेला वेद कसले पढ्ने ?

शनिबार सबै कुरा मिल्यो, इन्धन, एल प ग्याँस तुरुन्तै सहज आपूर्ति भनियो, ३ दिनपछि खटारामा तेल हाल्न गएको ४ ठाउँमा बन्द एक ठाउँमा पूरै एक किमिको लाइन रहेछ, बस् सातो गयो, ब्याक् टू मंगलमान, खटारालाई घिच्याउँदै फिर्ता भइयो । बच्चाहरुले भात खान खोजे, ग्याँस छैन, कुरा मिलेको ५ दिनपछि पसलेकहाँ सिलिण्डर बोकेर गएको घटीमा पनि १५ नि लाग्छ, किन ल्याएको सिलिण्डर भनेर उल्टो गाली खाइयो ।

५ वर्षको प्रयासपछि धारामा २ घण्टा लेदो मिसिएको पानी आयो हप्ता दिनमा त फेरि पाइएला भनेको पानी त उद्घाटनका दिन भएर दिएको हो अरुबेला चाहिने भए नगरपालिका नै जानूस्, पानी नआए पनि १२ सय प्रतिमहिना त तिर्नुपर्छ भन्ने जवाफ खाइयो । निर्माण पूरा हुनु २ वर्षअघि धरहरा उद्घाटन, मेलम्ची उद्घाटनकै लागि आएको, पछि ब्याक् टू मंगलमान भयो ।

टावरहरुको त मनग्गे काम भयो, भीमसेन थापाले पछि आत्महत्या गरे । कतै टावरबाट समृद्धि नदेखिने सोचेरै पो धरहराबाट हाम्फालेछन् कि जस्तो लाग्दैछ अहिले । भोका नेपालीलाई टावरभन्दा पानी, खाद्यान्न, औषधि पो हुनु पर्ने हो । अब श्रीलंका श्रीलंकामात्र भइदेला कि भूमण्डलीकरणमा उसले अरुलाई पनि आपूm जस्तै बनाइदेला ।

अनि बनाउने आपूmले हो कि अरुले जे बने पनि बा, जे बनाए पनि । रेल कुद्या वृटिश इण्डियाका पालामा वि.सं १९९४ मा, बन्द गरेर खोल्दा कति रमाइलो अहिले, उद्घाटन पनि यताबाट गर्नै नपर्ने, त्यसैगरी ट्रली बस, रोप वे पनि खोल्न पाए त हाइसन्चो पो हुन्थ्यो कि । ५० जनाको जम्बो टोलीको तीर्थाटन त हुन्थ्यो नि त्यसो गरे कसो होला ? राष्ट्र निर्माता पृथ्वीनारायण किन ?

गान्धीको समाधिस्थल राजघाट नै तीर्थ भइसकेपछि, सिद्धान्त दल, रुख वा सूर्य किन ? चितवनको लालपूर्जामा मोहियानी हक मात्रै होइन राजीनामै गरिसकेपछि । कतिले भ्यूटावर माथि क्रेन वा बुल्डोजर चलाए देश श्रीलंका हुँदैन कि भनेका छन्, खोइ त्यो देश त हामीभन्दा समृद्ध पनि थियो, त्रेतायुगमै रावणले कुवेरको लंका पाएको हो, सुनखानी ।

धर्म, नियम, कानुन, संहिता, आचार संहिता, अनुशासन त पालन गर्नेलाई पो हो त, अघिल्लोपल्ट पनि त संहिता थिएन र भोकलागेर पानी नपाएपछि मतपत्र च्यातेर जिभ्रो रसाएको त हो, अनि कुलमान नभएपछि भ्mयाप्प बत्ती गइदियो अनि के गर्ने ?

उनी अउँदा पनि अहिले बत्ती छैन, चुनाव नआउँदै त हेलिकेप्टर चढेको यसो उद्घाटानको कार्यक्रमसँग मिसाएर हेलिकप्टर चढेको मन परेन रे, अनि नेताले हेलिकप्टर चढेपछि च्यातिएको मतपत्र देखाउन हेलिकप्टरमा ल्याएको त्यो त अदालततिर पनि देखाउनु पर्छ भनिदिए, उता पनि पठाइयो तर पठाउनेलाई नै दलको सिंदुर लाइदिन पाउँदा उनलाई पनि हाइसन्चो लगाइदिनेलाई पनि ढुक्क, यस्तो खालको लोकतन्त्र, सजिलो लोकतन्त्रमा अरु चिच्याएर पनि के गर्ने ?

यो संघीयता पनि यस्तै छ क्या, उम्मेदवारी दिनुअघि पदबाट राजीनामा दिनुपर्छ भन्दा अदालतमा हुन्न भन्दै मुद्दा पर्ने, संसद भंग गर्नु पर्यो भन्दा अदालतमै मुद्दा जाने, गिट्टी बालुवा निर्यात गर्छु भन्दा अदालतमै मुद्दा जाने, डोजरवालाहरुले चुनावमा भाग नलिने भन्दा मुद्दा जान्छौँ भन्दै धम्क्याउने, हरियो रंग किन प्रयोग भन्दै बालकोटबाट गर्जन हुने अनि आयोगले खर्च सिमा, २५ हजार नाघ्दा बैंकबाट चन्दा, महानगरका मेयर, उपमेयरले प्रचार गर्दा साँढे सात लाखको, उपमनपामा दुबैले प्रचार गर्दा साँढे पाँच लाख, नपाका दुबैले गर्दा साँढे चार लाख, गाउँपालिकामा अध्यक्ष उपाध्यक्षले चुनाव प्रचार गर्दा डेढ लाखको सिमा रे ।

समन्वय समितिको ५० हजार रे, आयोगले राख्न त राख्यो सिमा धनीमानी मात्रै नआउन् भनेर गरेको होला तर टिकट किन्न कति लाग्ला कसले भन्ला कति दर भनेर, कि धनाड्य चौधरीहरु दलमा कसरी गए होलान्, नो पे नो टिकट, सिटमा पुग्दा लगानी उठाउनु नपर्ने रोटी त दुईतिर सेकाएर पो पाक्छ त, अनि महँगो तेल, महँगैको मासु, भात, मोटर साइकल, गाडी, कपडा, विज्ञापन के के हो के के छ, अनि त्यही बेला सामाजिक सञ्जालमा प्रचार गर्न नपाइने फिल्ड जाँदा त यसो मिठो, मसिनो, यो मोरो जिभ्रो उही खाना खाँदा त के मजा हुन्छ ।

यसो दशैं आएजस्तो भएन भने यो कडा घाममा के खट्नु हो, त्यो पनि संघीयता र लोकतन्त्रले खुट्टै भाँचेको, ढाडै सेकेको आम मतदातालाई जाँगर देखाउनु परेको छ, नयाँ नयाँ पहिले नसुनिएका वचनहरु दिनु परेको छ, मोनोरेल, मेट्रो रेल, मेलम्ची, धारामा पानी, लोडसेडिङ नहुने, शिक्षा फ्री, स्वास्थ्य फ्री, रोजगारी घरैपिच्छे, सडकबाट फोहोर हट्ने सातै दिनमा एक पटक भए पनि फोहोर उठ्ने, ट्राफिक जाम नहुने, कर घटाइदिने, सिटामोल फ्री गर्ने भन्यो भने अहिले कसैले पत्याउँदैन, चुनावको मुखैमा आएर भूमि आयोग पूर्र्ति गरेर भोटसँग लालपूर्जा साट्दा त नपत्याउने जनता छन् ।

बाटो पिच् गर्न बन्दै गर्नु पर्ने, धारामा एक दिन पानी आउन एक महिनासम्म डेलिगेसन जानु पर्ने, फोहोर नउठेर पैसामात्रै उठाउने, प्रधानमन्त्री रोजगार कार्यक्रम चलाउँदा पनि दलकै मान्छेले जम्मा पन्ध्र दिनको पैसा पाए भन्नेले आज नगद भोलि उधारो भने भने के गर्ने ? भोट र नोट त साटासाट पो हुन्छ त, त्यसमा पनि ठूला दलका नोट लिने भोट हाल्दा गोप्य हुन्छ रे जता छाप लाइदिए पनि हुन्छ भनेका छन् रे लेखपढ् गर्नेहरुले अनि के गर्नु जोहो त राम्रै गर्नु पर्छ यसपाली ।

नियममै बस्ने हो भने त भरतपुर पनि प्याओमा दिन नमिल्ने, परमादेशी वचनमै गठजोड गरि नै रहनु पर्ने थिएन नि त । एमसिसी जस्तै पहिले हो, अनि इन, अनि फेरि हो, त्यस्तै परे लाजमाथिको टालाटुली पनि भइहाल्छन् क्यारे, संहिता त आप्mनो ठाउँमा छ नि त, संविधान, संहिता पहिले पनि त थियो नि यत्रो वर्षसम्म युद्ध गर्नु परेको होइन त ?

त्यत्रालाई सकेर ल्याएको व्यवस्थामा पनि प्रश्न गर्न खोज्ने हो त ? जे गरे पनि माइठ् इज राइट् नभनिदिएर बेकारमा । आलो पालो मिलाएर भात भान्सा गर्नु पर्छ, सासु बुहारी उही डाडुपन्यू पाएका बेला बूढा ससुरा भएको भए यसो गर्नु हुन्न भन्थे, ती बूढा ससुरा छैनन् क्यारे जंगलतिर पठाइसक्या छ ।

भाइ भतिजा, अंशबण्डा गर्ने मिलीजुली खाने, बाहिर धारे हात लाए जस्तो गर्ने, नगरी नहुनेमा केही बेर चुप लागिदिनोस् भनेर दम्पति नै दुई चारपल्ट बालकोटतिर गए पनि भयो केही नलागे तीर्थाटन, राखी बान्नेतिर गए भइहाल्यो ।

चाहिने त हो नि यो संहिता, आचार राजनीतिमा नहुने भन्ने हुन्न, सबै नीतिको माऊ राजनीति भएकाले मुहान शुद्ध हुन जरुरी थियो नि, सुन्दरीजलको मुहान कहाँ शुद्ध छ अहिले, कतिले त्यहाँ स्वर्गीय आनन्द लिन्थे पहिले, त्यही पानी घरका धरामा जान्थे अहिले पो तारबार लाएर अलि सफा भएको त, पानी त्यहाँकोले नपुगेपछि भूइँको लेदो पानी घरमा दिएजस्तै हो क्या । आक्कल झुक्कल चुनाव पनि त दिन दिनै आउने होइन क्यारे कहिलेकहीँ आउने चुनावमा लगानी गर्न यी पसले, व्यापारी, उद्यमी, मतदाता किन डराएका हुन् बिनासित्तिमा ।

आखिर अब सिंगापुर बनाइदिने, स्वीट्जरलैण्ड बनाइदिने त भन्या छैन नि, त्यही नेपाल बनाउने भन्या हो, चिरचिरा पारेर बाँडे पनि त परदेशीलाई दिया छैन क्यारे, भ्mयाल भ्mयालमा मन्त्रालय राख्न दिएनन् हजुरबाले, दाम राखेर कति पटक ढोगेर यसो दूधको कुँडे तान्या त हो नि अहिले उनको खोइरो नखनेसम्म, प्रतिगामी षडयन्त्र हुन लाग्यो, यो व्यवस्था बचाउन पनि गठजोड गर्नु परेको नभनेसम्म जनता पत्याउँदैनन् त के गर्ने, ।

रहरले गरेको हो र यो करैकरले गरेको, नत्र टस्मसै नगर्ने, उखान टुक्काका भरमा पाँच वर्ष बसिरहनेसँग त सकिएन नि । निन्याउरो मुख लाएर, घर निकाला गरिदिने अनि अरुसँग भए पनि मितेरी लाउनु नहुने त, आखिर मितज्यूहरुले टाउकोको मोल त त्यो बेलामा पो भनेका अहिले त त्यसो भन्या छैनन् क्यारे, ।

हाम्रो साथ नपाएमा आखिर ती पनि लल्याकलुलुक भइहाल्छन्, वर्ष भरि त काँध मिलाउनु पाए हाइसन्चो मात्रै हुने हो र ढुकुटीमा आनन्द पनि त हुन्छ, नियुक्ति मात्रै कति हुन्छन् स्वदेश मात्रै हो र विदेश पनि । यस्तो हाइसन्चो छोडेर उताको कडा आचार संहितामा त बस्न सकिन्न नि कसो ? उनी पनि आचरणमा बस्न नसकेकैले सपथमा त्यो पर्दैन भनेकै हो क्यारे । विदेशीहरु आचारकै लागि बाइवल, कुरान समाते भन्दैमा वेद, गीता, गाई कसरी सम्झने, गीता, गाई लिने त अन्तै गइसकेको बेलामा ।

दिल्ली पन्जाव त होइन नि आम आद्मीले २५० युनिट विजुली र २० हजार लिटर पानी निःशुल्क दिने ? ज्येष्ठ नागरिकलाई तीर्थयात्रा निःशुल्क रे । ऊ जस्तो देश हो त यो, निजी अस्पताल, विद्यालय छोडेर विरामी अनि विद्यार्थी सरकारीतिर आकर्षित भए रे हामीले त पानी, बिजुली छूट हुन्छ भनी बजेटमा पो भनेको त कसरी दिने ? घोषणालाई उपलब्धि पो मान्ने हो त ।