• मंसिर ८ २०८१, शनिबार

चुनावी सभाबाटै रेणु-सिर्जनालाई देउवाको ढाडस

बैशाख २४ २०७९, शनिबार

काठमाडौं । मुलुककै सबैभन्दा ठूलो महानगर काठमाडौंमा योपटक सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेसकी सिर्जना सिंह उम्मेदवार बनेकी छन् । ६ ओटा महानगरमध्ये सत्तारूढ गठबन्धनले भरतपुर र काठमाडौंमा महिलालाई अघि सारेको छ ।

काठमाडौंमा उम्मेदवार बनेकी सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् । भरतपुरकी रेणु माओवादी अध्यक्ष प्रचण्डकी छोरी हुन् । छोरी र पत्नीलाई उम्मेद्वार बनाएको भनेर चर्को आलोचना भइरहेको बेला गठबन्धनका शीर्ष नेताहरूले त्यसको खण्डन गर्न चुनावी मञ्चलाई प्रयोग गरेका छन् ।

चुनावी सभामा बोल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रेणु दाहाल आफ्नो प्रस्तावमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेको बताउनसमेत पछि परेनन् । रेणुले आफ्नो कार्यकालमा भरतपुरमा राम्रो काम गरेकाले पुनः दोहो¥याउन आफूले माओवादी अध्यक्ष प्रचण्डलाई सुझाव दिएको पनि उनले चुनावी सभामा सुनाए ।

‘हो, भरतपुरमा प्रचण्डले आफ्नी छोरीलाई उठाउनुभएको छ, उहाँले मात्रै रेणुलाई उठाउनुभएको होइन, हामीले पनि रेणुलाई नै उठाउन सुझाव दिएका थियौं,’ प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले भने, ‘हामी सबैले तपाईंकी छोरी नउठानुस् भनेको भए पनि उहाँले मान्नुहुन्थ्यो । राम्रो काम गरेको छ, किन हटाउनुहुन्छ ? भनेर मैले भनेको हो, राम्रो काम गरेको मान्छे, त्यो पनि महिलालाई किन रोक्नु ? दिनुस् भनेर मैले भनेको हो ।’

उनले प्रचण्डकी छोरीका रूपमा जन्मिनुबाहेक रेणुको कुनै गल्ती नभएको उनले बताए । भरतपुरमा रेणुले धेरै राम्रो काम गरेको भन्दै देउवाले अनावश्यक बखेडा नगर्न कार्यकर्तालाई आग्रह पनि गरे ।

प्रधानमन्त्री देउवाले काठमाडौं महानगरमा गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई पनि प्रकाशमानकी पत्नीका रूपमा प्रचार गरेकोमा असन्तुष्टि जनाए । उनले प्रकाशमान सिंह स्वयं पनि श्रीमती सिर्जनालाई काठमाडौंमा उम्मेदवार बनाउन डराएको उनले सुनाए । ‘प्रकाशमानको श्रीमती हुनु सिर्जनाको गल्ती हो ? यो अपराध त होइन नि ।,’ देउवाले भने । यो समाचार राजधानी दैनिकमा छ ।