काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विभाजन भएपछि कतै नलागेका नेता वामदेव गौतम नेकपा एकीकृत समाजवादीलाई समर्थन गरेका छन् ।
एमाले र माओवादी केन्द्र ब्युतिएपछि उनले कम्युनिस्ट एकताका लागि अभियान चलाएका थिए । तर, सो अभियान सफल हुन सकेन । सुरुमा उनले नेकपालाई विभाजनबाट जोगाउन प्रयास गरेका थिए । तर, एमालेका पूर्व उपाध्यक्षसमेत रहेका गौतम पछिल्लो समय एमालेसमेत परित्याग गरेका थिए ।
एमाले विभाजन भएर माधवकुमार नेपाल, झलनाथ खनालले नेकपा एकीकृत समाजवादी गठन गरेका थिए । तर, गौतम एमाले र एकीकृत समाजवादी दुवै दलमा सहभागी नभई राष्ट्रिय एकता अभियान सञ्चालन गरेका थिए ।
राष्ट्रिय सभाका सदस्यसमेत रहेका गौतमको अभियानमा जोडिएका नेताहरू कोही एमाले र कोही एकीकृत समाजवादीमा लागेका थिए । गौतमकी श्रीमती तुलसा थापा सघीय सांसदसमेत हुन् । उनी एमालेमै रहेकी छन् ।
स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा गौतमले एकीकृत समाजवादीको चुनाव चिह्न कलमलाई मतदान गर्न भन्दै गीत लेखेर आफूलाई एकीकृत समाजवादीको पक्षमा उभ्याएका छन् । यो समाचार राजधानी दैनिकमा छ ।