घोराही, १९ बैशाख ।
‘म गोबर गन्हाउँछु होला मलाई झन अतिथि बनाउनुभयो’ पूर्वमन्त्री लोकेन्द्र विष्टमगरले भन्नुभयो, ‘काम गरी खानेलाई घृणा गर्ने यहाँको संस्कारै यस्तै छ ।’ उहाँ यसरी बोलिरहँदा नजिकै वरिष्ठ समालोचक डा. अमर गिरी हुनुहुन्थ्यो । हल साहित्यक तथा बौद्धिक व्यक्तिले भरिएको थियो ।
यति बोलीसकेपछि उहाँ आफै अलिक अफ्ठेरो महशुस गर्नुभयो । मैले यहाँहरुलाई भन्न खोजेको होइन । अन्यथा नलागोस भन्दै सबैका अनुहारतिर विष्टले आँखा डुलाउनुभयो ।
नेपाल संस्कृत विश्वविद्यालयका शिक्षा अध्यक्ष प्रा.डा भिम खतिवडा, राप्ती साहित्य परिषदका अध्यक्ष टिकाराम उदासी, निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालले समर्थनमा खितिक्क हाँसिदिनुभयो । राप्ती साहित्य परिषद घोराहीको सभाहलमा खचाखच बसेका दर्शक श्रोताले तालि दिए ।
‘जनता बदलिएन दुई चोक्टा मासु र एक तुर्की रक्सी भए उतै मख्खै’ पूर्वमन्त्री एवम् अहिलेका ड्रागन फ्रुट व्यवसायी लोकेन्द्र विष्टमगरले राजनीतिक विषय तर्फ व्याख्या गर्दै भन्नुभयो ‘यो के पारा हो ?’ उहाँले स्थानीय सरकारको चुनावी माहोललाई चर्को घामसँग तुलना गर्नुभयो । भ्रष्ट, जाली, बदमास भनेर पाँच वर्षसम्म गाली गरेकैलाई रोज्न लागेको भन्दै आश्चर्य व्यक्त गर्नुभयो ।
‘पोलिटीक्स महंगो भयो, यस्तै हो भने उभो लागिंदैन’ पूर्वमन्त्री विष्टले थप्नुभयो, ‘पोलिटीक्स फोहोरी भयो, यस्तो फोहोरी राजनीतिबाट देश र जनताले मुक्ति पाउँदैनन् ।’
देश र दुनियाँ बदल्न गएका नेताहरु उतै बदलिएको उहाँको भनाई थियो । उहाँका अनुसार जनताले वास्तविक धरातलको ऐना देखाउन जरुरी छ, तिनका भुलभुलैयामा फस्नु हुँदैन । सचेत हुनुपर्छ ।
आजीवनको पेशा व्यवसाय जस्तो राजनीति र ठेक्का जस्तो पद भएको पूर्वमन्त्रि विष्टको भनाई थियो । ‘कुर्सी र लास छुट्याउन नसक्ने जस्तो टाँस्सीएको टाँस्सीएै हरिविजोग छ’ व्यंग्य गर्दै उहाँले थप्नुभयो ‘कालले आईज आईज भन्दा पनि कुर्सी समातिरहने कस्तो अचम्म हो ?’ यसरी बोल्दा सिङ्गै हलले साथ दियो । तालीको गड्गडाहटले शोभाकासाथ समर्थन गरीदियो ।
कम्युनिष्ट आन्दोलनका पुराना योद्धा जनयुद्धहुँदै शान्ति स्थापनापछि मन्त्री बन्नुभएका विष्टले भन्नुभयो ‘स्याल र कम्युनिष्ट शहर पसे नफर्किने रहेछ’ उहाँले इतिहास देखिको सार प्रस्तुत गर्दै भन्नुभयो, ‘झापा आन्दोलन, माओवादी जनयुद्धहुँदै अहिले विप्लव जीहरुसम्म आउँदा पनि त्यहि देखियो ।’
यसो भनिरहँदा आफू पनि खितित खितित हाँस्नुभएको थियो । उहाँले यस्तो प्रवृत्तिलाई सुधार्नु अनिवार्य रहेको बताउनुभयो ।
‘तपाईं पाका नेताहरु स्वैच्छिक अवकासमा निस्कनुस्’ शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाललाई संकेत गर्दै उहाँले भन्नुभयो, ‘म नभए पृथ्वी घुम्दैन भन्ने न सोच्नुस् । तपाईं नभएपनि पृथ्वी घुम्छ । देश चल्छ ।’
उहाँहरु तिनजनालाई अब बिसाउनुस् र आराम गर्नुस् भनेर आग्रह गर्ने बेला आएको बताउनुभयो । अरुलाई पनि राजनीति आजीवनको पेशा व्यवसाय होइन भनेर सम्झाउन जरुरी रहेको बताउनुभयो । त्यहि कुरा बुझेर आफू राजनीति छोडेर कोदालो खन्न आएको सुनाउनुभयो । सबैले यसरी फर्किनु पर्ने धारणा राख्नुभयो ।
‘म राजनीतिबाट अलग छैन । म समाजमा बाँचुन्जेल राजनीतिक प्राणी हुन्छु ।’ पूर्वमन्त्री विष्टको भनाई थियो, ‘म सकृय हुन्छु हुन्न मेरो आफ्नो कुरा हो ।’ उहाँले राजनीति निःशुल्क, निसर्त र निस्वार्थ हुनुपर्ने बताउनुभयो । सपना देख्न, श्रम गर्न, संस्कृति र इतिहास भुल्न नहुने भनाई थियो ।
एउटा जिम्मेवारी सफल बनाएपछि गाउँ फर्किनुपर्छ । युवाहरु विदेश होइन देश भित्रकै बाँझो जोत्नुपर्छ भनेर उदाहरण दिन आएको बताउनुभयो । अरबको खाडितिर नजान आफूले जस्तै बाँझो जोत्न आग्रह गर्नुभयो । उहाँले खेतिगर्न छोडेको बाँझो जोतेरै ड्रागन रोप्नु भएको हो ।
फरकफरक खालको जमिनमा त्यहि अनुसारको खेति गर्न सकिन्छ । नेपालमा गोबर सोहोर्न घिन मान्ने विदेशमा मानव मलमुत्र सोहर्न राजी हुनु नै लगत भएको भनाई उहाँको थियो । उपरखुट्टी लाएर विदेशमा कमाई हुँदैन । जहाँ पनि पसिना बगाएर खाने हो ।
उहाँले राजनीति षडयन्त्रकारी कुटिल भएको बताउनुभयो । अपराध र राजनीति एकैखाले रहेको र यिनलाई छुटाउने फिरफिरे पर्दापनि बाँकी नरहेको दावी गर्नुभयो । उहाँका अनुसार देश दुनियाँ बदल्ने गफ लगाउने तर उतै बदलिनेलाई घुम्तिघुम्तिमा वास्तविकताको ऐना देखाउन जरुरी छ । त्यो आमनागरिकले गर्नुपर्छ । उहाँ बोलिरहँदा समर्थनका ताली बजेका थिए ।
सबैजसोले सम्मान भावका साथ हो मा हो मिलाउँथे । उहाँको भनाईमा सबैजसोको चित्त बुझेको थियो । सामान्य पहिरन, विशिष्ट अतिथिको आषण पनि मलाई नदिएको भए हुन्थ्यो भन्ने भाव, बोलीमा स्पष्टता र व्यवहारमा सरलताले हलभरीका मानिसहरु प्रभावित थिए ।
उहाँलाई सम्वोधन गर्दै नेपाल संस्कृत विश्वविद्यालयका शिक्षा अध्ययक्ष प्रा.डा भिम खतिवडाले पसीनासँगै गित गाउने, पाखुरामा विश्वास गर्ने, पसिनासँगै जीवन साट्ने भनेर श्रद्धा व्यक्त गर्नुभयो ।
प्रमुख अतिथि डा. गिरीले सबैभन्दा ठूलो साहित्य पूर्वमन्त्री विष्टको बोलीमा भेटिएको बताउनुभयो । विजौरीस्थित ड्रागन फार्मबाट मन्त्री विष्ट रुकुमका पुराना कम्युनिष्ट नेता एवम् वौद्धिक व्यक्तित्व शरुण बाँठाका साथ आउनुभएको थियो ।
तुलसीपुर चोक ओर्लेपछि पैदलै करीब आधा मिनेट परिषदको सभाहल पुग्नुभयो । बैशाखको चर्को घामको धुपमा छाता समेत नओढेका नेताद्धय त्यसैगरी फर्किनुभयो । जिल्ला प्रहरी कार्यालय नजिकको एउटा सामान्य डेरीमा चिया पिउनुभयो ।
डेरी सञ्चालकले पनि सर्वसाधारण ग्राहक सरहको व्यवहार गरे । नकसैले मन्त्री हिंडेको पत्तो पाए न त उहाँले त्यसतो चाल ढाल नै देखाउनुभयो । एक सर्वसाधारण नागरिक सरह लुरुलुरु हिंडेर फर्किनुभयो ।