कास्की । सरकारले गरेको हप्तामा दुई दिन बिदा दिने निर्णयको पोखराका पर्यटन व्यवसायीले स्वागत गरेका छन् । सरकारको सो निर्णयले पर्यटनमा सकारात्मक सन्देश दिएको भन्दै उनीहरुले व्यवसायीहरुले स्वागत गरेका हुन् ।
कोरोना संक्रमणका कारण संकटमा परेको पर्यटन क्षेत्रमा सरकारले गरेको शनिबार र आइतबार बिदाको निर्णयले आन्तरिक पर्यटक बढ्ने उनीहरूको विश्वास छ ।
सरकारले केहीदिनअघि मात्र आगामी १ जेठबाट लागू हुने गरी हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
पोखरामा रहेको होटल संघले विज्ञप्ति नै निकालेर सरकारको निर्णयले सकारात्मक सन्देश दिएको बताएको छ । ‘पर्यटन क्षेत्र लामो समयदेखि विविध समस्याबाट प्रताडित हुँदै आएकोमा दुई दिने बिदाको व्यवस्थाले केही रूपमा भए पनि व्यवसायमा राहत पुग्ने विश्वास हामीले लिएका छौं,’ विज्ञप्तिमा भनिएको छ ।
कोभिड–१९ को महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र नै हुन पुगेको र दुई दिने बिदाको व्यवस्थाले कोरोनाबाट थलिएको पर्यटन क्षेत्रलाई केही रूपमा भए पनि चलायमान बनाउन र आर्थिक गतिविधि बढाउन थप मद्दत पुग्ने विश्वास संघको रहेको अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।
पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले दुई दिन बिदा पर्यटनका लागि सुखद समाचार रहेको बताए ।
अरु देशमा पनि यस्तो अभ्यास रहेकोमा नेपालले ढिलो गरी यसलाई पछ्याएको उनी बताउँछन् । यो निर्णयले कर्मचारीमा आफूसँगै पारिवारिक घुमघाम गर्ने अवसरसमेत प्रदान गर्ने उनले बताए । यसका बारेमा बहस भइरहँदा सरकारको यो निर्णय सुझबुझबिना गरिएको भनेर आलोचना गर्नेहरु पनि नभएका होइनन् ।
खासगरी सामाजिक सञ्जालहरुमा यस्तो खाले विरोध भएको पाइएको छ । सरकारले इन्धन खपत घटाउनका लागि यस्तो निर्णय गरिएको समाचारहरु बाहिरीएसँगै यो निर्णय सच्याउनु पर्ने कुरा पनि उठेका छन् ।
हप्तामा २ दिन बिदा दिएमा धेरै मानिसहरु घरमै रहने र सवारी साधनमा प्रयोग हुने इनधन बचत हुने सरकारी आँकलन रहेका छ ।
तर बिदा भएका कारण मानिसहरु घुम्न निस्कने भएकोले झन धेरै इन्धन खपत हुन जाने धेरैको अनुमान पनि रहेको छ ।
यसैबिच मानिसहरु घुम्न निस्कने भएकोले पर्यटकहरुको संख्यामा बद्धि भई होटेल व्यवसायमा सकारात्मक असर पर्ने व्यवसायीहरुको आँकलन रहेको छ ।