• मंसिर ८ २०८१, शनिबार

आयोग निराश : यसपटकको स्थानीय तह निर्वाचनमा वैदेशिक सहयोग शून्य

बैशाख १२ २०७९, सोमबार

काठमाडौं । वैशाख ३० मा हुने निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सुरक्षाकर्मीको प्रयोजनका लागि गाडी उपलब्ध गराइदिन छिमेकी भारतसँग आग्रह गरेको थियो ।

तर, एउटा पनि गाडी आएन । अरू देश र दातृ निकायबाट समेत यसपटक केही सहयोग नआएको आयोगले जनाएको छ ।

२०७४ मा चुनावी सामाग्री र यातायातका साधनहरुसम्म वैदेशिक सहयोगबाट प्राप्त भएका थिए । छिमेकी मुलुक भारतबाट मात्रै करिब ९ करोडको सहयोग आएको थियो ।

यस्तै, चीनले २७ हजार ५ सय थान कैँची, २७ हजार ५ सय थान क्याल्कुलेटर र त्यत्ति नै संख्यामा पञ्चिङ मेसिन अनुदान दिएको थियो ।

चीनले ५५ हजार थान रबर म्याट, ५५ हजार थान स्केल, ५५ हजार जेल पेन (कालो र रातो) उपलब्ध गराएको थियो ।

त्यतिबेला यूएनडीपीले ९ सय थान ल्यापटप, ९ सय थान कप्युटर प्रिन्टर र कार्टिग्रेज सहयोग गरेको थियो ।

आयोगले यसपटक पनि विभिन्न दातृ निकाय र मित्र राष्ट्रसँग चुनावी सामग्री सहयोग मागे पनि कतैबाट कुनै सहयोग भएन ।

दातृ निकाय र मित्र देशहरूले सहयोगका लागि उत्सुकता नदेखाएको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाए । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।