• मंसिर ८ २०८१, शनिबार

अध्यक्ष नेपालको गृहजिल्लामा चुनावी गठबन्धन नहुने

बैशाख १२ २०७९, सोमबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गृह जिल्ला रौतहटमा अन्ततः गठबन्धन हुन सकेन ।

उम्मेदवारले मनोनयन गर्ने दिन वैशाख ११ गतेसम्म रौतहटमा केन्द्रीय गठबन्धनमा रहेका दलहरुबीच साझा उम्मेदवार बनाउने सहमति हुन नसकेपछि मनोनयन दर्ता गराउने क्रम सुरु भएको छ ।

केही दलले आपसी तालमेल गरेर मनोनयन दर्ता गर्ने क्रम रौतहटमा सुरु भए पनि कुनै ठोस गठबन्धनको सहमति दलहरुबीच हुन सकेको छैन ।

गठबन्धन सफल हुन नसकेपछि आन्तरिक छलफलबाट केही दलहरु तालमेल गरेर उम्मेदवार चयन गर्ने र वैशाख १२ मा मनोनयन दर्ता गराउने सम्भावना रहेको छ ।

रौतहटको ईशनाथ नगरपालिकामा नेपाली काँग्रेसतर्फबाट अन्जु झाले मनोनयन दर्ता गराउन जाँदा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको हस्ताक्षर नमिलेको भनेर दर्ता हुन नसकेको बुझिएको छ ।

ईशनाथ नगरपालिकाका निर्वाचन अधिकृत रामकृष्ण उप्रेतीले पार्टी अध्यक्ष देउवाको हस्ताक्षर नमिलेको भनेर राय लिनको लागि निर्वाचन आयोगमा पठाइएको जानकारी गराएका छन् ।

नेकाबाट मेयर पदको उम्मेदवार बनेकी झाले देशभरका नेपाली काँग्रेसमा यस्तो समस्या देखिएको आफूले बुझेको प्रतिक्रिया दिएकी छन् । यो समाचार नागरिक दैनिकमा छ ।