• मंसिर १७ २०८१, सोमबार

बैसाख १ गते मात्र फुल्ने फूल हेर्न दर्शनार्थीको भीड

चैत्र ३० २०७८, बुधबार

सिरहा । पर्यटकीय स्थलको रूपमा रहेको सिरहाको सलहेश फूलबारीमा रहेको रुखमा १ वैशाख गते मात्र फुल्ने फूल हेर्न दर्शनार्थीहरूको बुधबार बिहानैदेखि भिड लागेको छ ।

फूलबारीभित्र रहेको राजा सलहेश र मालिनीको गहवर (मन्दिर) मा पूजाअर्चना गर्न र मन्दिरसँगै टाँसिएको हारम जातको रुखमा हरेक वर्ष नयाँ वर्षमा मात्र फुल्ने जनविश्वास छ । तराईका पासवान जातिको इष्टदेव मानिने सलहेशको पूजा गर्नाले मनोकांक्षा पूरा हुने, सन्तान प्राप्ति, चर्म रोग लगायतका रोगब्याधि नलाग्ने जनविश्वास छ ।

फूलबारीभित्र दुर्लभ जातिका जडिबुटी खोज्न भारतको बिहार, पश्चिम बंगाल, नेपालको सिरहा, सप्तरी, उदयपुर, धनुषा लगायतका जिल्लाबाट हजारौंको संख्यामा दर्शनार्थीहरू आउने गर्दछन् ।

हरेक वर्षको १ वैशाखमा मात्र पूजा हुने सलहेश फूलबारीमा भव्य मेलासमेत लाग्ने गर्दछ । सलहेश गाथामा उल्लेख गरिए अनुसार तेह्रौं शताब्दीका लोकनायक सलहेश र विराट राजाकी छोरी मालिनीबीच प्रगाढ प्रेम सम्बन्ध रहे पनि प्रेम असफल भएपछि सलहेशको प्रतीक्षा गर्दै मालिनी मालाको रूपमा १ वैशाखमा फुल्ने गरेको सलहेश गहवरका पुजारी हरिसिंह देव दनुवारले बताए ।

१२ बिघा क्षेत्रफलमा फैलिएको सलहेश फुलबारी मेला कोरोना संक्रमणका कारण गत वर्ष नलागेकाले यस वर्ष विगतको तुलनामा मेला भर्न आउनेहरुको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।