• मंसिर ८ २०८१, शनिबार

स्थानीय तह निर्वाचन : ओलीको निर्देशन- ७७ वटै जिल्लाले चैत ३० गतेसम्म उम्मेदवार सिफारिस गरिसक्नु पर्ने

चैत्र २८ २०७८, सोमबार

काठमाडौं । स्थानीय निर्वाचनका लागि एमालेका सम्बन्धित कमिटीले उम्मेदवारको नाम सिफारिस गर्न थालेका छन् । कतिपय ठाउँमा सर्वसम्मत भएका छन् भने अधिकांश आकांक्षीको नाम सिफारिस गरिएको छ ।

चैत मसान्तभित्र वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको उम्मेदवार सिफारिस गरिसक्न एमालेले अन्तरपार्टी निर्देशन जारी गरेपछि सात सय ५३ वटै स्थानीय तहमा उम्मेदवार छनोट प्रक्रिया सुरु भएको थियो ।

गाउँ तथा नगरपालिकाका वडाध्यक्ष र सदस्यहरूका उम्मेदवारको निर्णय सम्बन्धित वडा र पालिका कमिटीको सिफारिसमा जिल्ला कमिटीले गर्ने, निर्णयमा विवाद आए एक तह माथिल्लो कमिटीमा पठाउने, केन्द्रले आवश्यक ठानेमा कुनै पनि तहको निर्णयमा पुनर्विचार गर्न सक्ने एमालेको उम्मेदवार छनोटसम्बन्धी मापदण्ड छ । सिफारिसको अन्तिम मिति आगामी ३० चैतसम्मका लागि तोकिएको छ ।

महानगर र उपमहानगरका उम्मेदवार छनोट केही ढिलाइ हुने एमाले नेताहरूको भनाइ छ । महानगर र उपमहानगरका प्रमुख तथा उपप्रमुखको उम्मेदवार चयन भने सम्बन्धित कमिटीको सिफारिस, जिल्ला र प्रदेश हुँदै केन्द्रीय कमिटीबाट गर्ने एमालेको पछिल्लो निर्णय छ । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।