• श्रावण ९ २०८३, शनिबार

बहुचर्चित पशुपति धर्मशाला प्रकरण : सरकारी कर्मचारीलाई बतासले होटल प्रवेशमा रोक लगाएपछि तालाबन्दी

चैत्र २६ २०७८, शनिबार

काठमाडौं । सरकारले सम्झौता रद्द गर्दा पनि अटेर गरेर बतास अर्गनाइजेसनले पशुपति धर्मशालामा चलाइरहेको होटेल आनन्दमा पशुपति क्षेत्र विकास कोषले ताला लगाएको छ । कोषले सम्झौता रद्दको निर्णय भएको १२औँ दिन शुक्रबार होटेलमा ताला लगाएको हो ।

कोषका सदस्यसचिव मिलनकुमार थापासहितको टोली बिहान १०ः१५ बजे धर्मशाला पुगेको थियो । तर, होटेलका कर्मचारीले भित्रबाटै ताला लगाएर प्रवेशमा निषेध गरेका थिए ।

‘भारत सरकारको ४० करोड सहयोगमा १९ रोपनी जमिनमा निर्माण भएको धर्मशालामा राज्यको सम्पत्ति छ,’ थापाले भने, ‘ती सरसामान कुन स्थितिमा छन्, छन्–छैनन् भनेर मुचुल्का गर्न जाँदा प्रवेश नै गर्न दिइएन, त्यसपछि ताला लगाएका हौँ ।’

धर्मशालामा होटेल चलाउन ३० वैशाख ०७६ मा आनन्दसँग कोषले गरेको सम्झौता नै अवैध रहेको र होटेलले सम्झौतासमेत उल्लंघन गरेको पाइएपछि १४ चैतमा बसेको कोष सञ्चालक परिषद्को बैठकले १७ चैतदेखि लागू हुने गरी सम्झौता रद्द गरेको थियो ।

सम्झौता रद्दको पत्रसमेत नबुझेपछि कोषले २० चैतमा सार्वजनिक सूचना नै जारी गरेर ‘सम्झौता रद्द भएको’ र ‘धर्मशाला खाली गर्न’ जानकारी गराएको थियो ।  यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।