काठमाडां । सरकारले विभिन्न २० मुलुकमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले यस्तोे निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकमा चार दर्जनभन्दा बढी प्रस्ताव लगिएको थियो । परराष्ट्रमन्त्री नारायण खड्काले राजदूत नियुक्ति सिफारिससम्बन्धी ठाडो प्रस्ताव लगेका थिए ।
विभिन्न देशमा राजदूत नियुक्तिका लागि सिफारिस भएकामा परराष्ट्र सेवाका आठ र राजनीतिक कोटाका १२ जना रहेको जानकारी एक मन्त्रीले दिए ।
यसरी सिफारिस हुनेमा परराष्ट्र सेवाका निर्मलकुमार काफ्ले ब्राजिल, दुर्गाबहादुर सुवेदी जापान, भरतकुमार रेग्मी अस्ट्रिया, सुशीलकुमार लम्साल इजिप्ट, घनश्याम भण्डारी बंगलादेश, डोरनाथ अर्याल ओमान, तीर्थराज वाग्ले म्यानमार र हरिषचन्द्र घिमिरे बहराइन छन् ।
राजनीतिक कोटामा माओवादी केन्द्रबाट विष्णुपुकार श्रेष्ठ चीन, जनता समाजवादी पार्टीबाट नवराज सुवेदी साउदी अरेबिया र डा. रामस्वार्थ राय यादव डेनमार्क, नेकपा एकीकृत समाजवादीबाट मिलन तुलाधर रुस, कैलाश पोखरेल अस्ट्रेलिया र डिल्लीराज पौडेल मलेसियाका लागि राजदूत सिफारिस भएका छन् ।
यस्तै शर्मिला पराजुली ढकाल स्पेन, शान्ता रिजाल इजरायल, ज्योति प्याकुरेल दक्षिण कोरिया, वासुदेव मिश्र श्रीलंका, दानबहादुर तामाङ दक्षिण अफ्रिका र नरेशविक्रम ढकाल कतारका लागि राजदूत सिफारिस भएका छन् ।
संसदीय सुनुवाइ समितिले राजदूतमा सिफारिस नाम अनुमोदन गर्नुपर्ने व्यवस्था छ । सरकारले स्थानीय तह निर्वाचन आचारसंहिता लागु हुनुभन्दा पहिले राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो ।
वर्तमान सरकार बनेलगत्तै विभिन्न मुलुकमा कार्यरत राजदूतलाई फिर्ता बोलाइएको थियो । यो समाचार नागरिक दैनिकमा छ ।