• मंसिर ८ २०८१, शनिबार

गठबन्धन दलहरूको भयले कुन-कुन दलसँग चुनावी तालमेल गर्दैछन् ओली ?

चैत्र १९ २०७८, शनिबार

काठमाडौं । सत्तासाझेदार पाँच दलले स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेपछि दबाबमा आएको एमालेले विपक्षी गठबन्धनको तयारी थालेको छ । पाँचदलीय गठबन्धनले तालमेल गरेर जाने निर्णय लिएकै दिन प्रमुख प्रतिपक्षी दल एमालेले राप्रपासँग तालमेलका लागि प्रस्ताव गरेको छ ।

एमाले अध्यक्ष केपी ओलीले बिहीबार नेपालगन्जस्थित होटेल सोल्टीमा राप्रपाका महामन्त्री डा. धवलशमशेर राणासँग चुनावी तालमेलको प्रस्ताव राखेका हुन् । कर्णालीका विभिन्न जिल्लामा

भएका चुनावी सभालाई सम्बोधन गरेर काठमाडौं फर्कने क्रममा नेपालगन्जमा रहँदा ओलीले राणासँग डेढ घन्टा छलफल गरेका थिए । छलफलमा अध्यक्ष ओलीले दुई पार्टीबीच तीनै तह (स्थानीय, प्रदेश र संघीय)को चुनावमा सहकार्य गरेर जान प्रस्ताव गरेको राणाले बताए ।

सत्तासाझेदार दलले चुनावी तालमेलको तयारी गरेकाले विपक्षी दलहरूले पनि गठबन्धन बनाउनुपर्छ भन्नेमा समझदारी बनेको उनको भनाइ छ । राणाले ओलीसँगको छलफललाई चुनावी तालमेलको पहिलो चरणको छलफलको संज्ञा दिएका छन् । यस विषयमा राप्रपाले छिट्टै आधिकारिक निर्णय सार्वजनिक गर्ने उनले बताए ।

ओलीले महन्थ ठाकुर नेतृत्वको अर्को विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीसँग पनि तालमेलका लागि छलफल गर्ने सम्भावना छ । स्थानीय आवश्यकता आधारमा तालमेलमा जान सकिने एमालेको नीति छ । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।