• मंसिर ८ २०८१, शनिबार

स्थानीय तह चुनाव : यो पटक कुन प्रदेशमा कति मतदाता थपिए ?

चैत्र १४ २०७८, सोमबार

काठमाडौं । आसन्न वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाखभन्दा बढी मतदाता सहभागी हुने भएका छन् ।

निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीअनुसार १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले मताधिकार पाउने भएका हुन् ।

अघिल्लो निर्वाचनभन्दा यसपटक ३६ लाख ६१ हजार २ सय ९९ मतदाता थपिएका छन् ।

बागमतीमा बढी मतदाता

अन्य प्रदेशको तुलनामा बागमतीमा सबैभन्दा बढी ३४ लाख १२ हजार ८ सय ६९ मतदाता छन् । सबैभन्दा कम कर्णालीमा १० लाख १ हजार २ सय ८२ जना छन् ।

सबैभन्दा बढी पुरुष मतदाता मधेस प्रदेशमा १७ लाख ९७ हजार ९ सय ४५ जना छन् । सबैभन्दा कम कर्णालीमा ५ लाख ६ हजार १ सय ८० जना छन् ।

बढी महिला मतदाता बागमतीमा १७ लाख ७ हजार ९ सय ४२ जना छन् । कम कर्णालीमा ४ लाख ९५ हजार ९९ महिला मतदाता छन् ।

सबैभन्दा बढी तेस्रोलिंगी मतदाता मधेसमा ६७ र कम कर्णालीमा ३ जना रहेको आयोगले जनाएको छ ।

मतदाता नामावली ऐनअनुसार अद्यावधिक मतदाता नामावली प्राप्त भएको मितिले ३५ दिनभित्र पुनरावलोकन गरी प्रकाशन गर्नुपर्ने प्रावधान छ ।

अन्तिम नामावली प्रकाशन भइसकेपछि हेरफेर, थपघट वा सच्याउन पाइँदैन ।

‘फागुन १९ गतेदेखि एक साताको म्याद राखेर मतदाता नामावली अद्यावधिक (दाबी विरोध) गर्न र त्रुटि भए सच्याउन हामीले समय दिएका थियौं’, सहप्रवक्ता अर्यालले भने, ‘नाम दोहोरिएका, मृत्यु भएको वा नागरिकता त्याग गरेका, झुटा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए विरोधमा उजुरी दिन आह्वान गरिएको थियो ।

सबै प्रक्रिया पूरा गरेर हामीले नामावली प्रकाशन गरेका हौं ।’ यो समाचार नागरिक दैनिकमा छ ।