• मंसिर १२ २०८१, बुधबार

सिटामोलको मूल्य बढाउन खेलबाड, ‘क्लिनिकल ट्रायल’ नगरी उत्पादन र बिक्रीवितरण

चैत्र १२ २०७८, शनिबार

काठमाडौं । महामारी सुरु भएपछि वर्षमा १७ देखि १८ करोड चक्की पारासिटामोल खपत भएको थियो भने सामान्य अवस्थामा बर्सेनि १४–१५ करोड चक्की उपयोग हुने गरेको छ ।

कोभिड संक्रमण तीव्र भएकै बेला मूल्य बढाउन व्यवसायीले सिटामोलको चरम अभाव गराएका थिए, जसकारण महामारीको पहिलो र दोस्रो लहरमा धेरै सर्वसाधारणले सास्ती भोग्नुपरेको थियो ।

घाटा बढेको भन्दै सरकारी कम्पनी नेपाल औषधि लिमिटेडले नै करिब १५ दिन सिटामोल उत्पादन बन्द गरेको थियो । त्यतिबेला घाटा पूर्ति गर्न भन्दै औषधि लिमिटेड बोर्डले अर्थ मन्त्रालयसँग १ करोड ६ लाख मागेको थियो ।

बजेट निकासा नभएपछि उसले उत्पादन नै बन्द गर्‍यो । त्यसबेला पनि स्वदेशी कम्पनीले मूल्य बढाउन जोड दिएका थिए । अत्यावश्यक वस्तुका रूपमा रहेको औषधिको मूल्यवृद्धि गर्दा विरोध हुने डरले एमजी बढाउने निर्णय गरिएको स्रोत बताउँछ ।

‘औषधि उत्पादकको स्वार्थमा सरकार परिदियो । व्यापारीको प्रभावमा एमजी बढाउने निर्णय भएको छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘यसमा प्रधानमन्त्री कार्यालयले नै हस्तक्षेप गर्नुपर्छ ।’ विभागका सूचना अधिकारी केसीले भने मूल्य धेरै नबढ्ने दाबी गरे ।

सल्लाहकार समितिको निर्णयले अन्ततः औषधिको मूल्य बढ्ने र त्यसको असर उपभोक्तामा पर्नेछ । ‘सिटामोलको मूल्य बढाउनकै लागि सिलिङलाई छल्दै एमजी नै बढाउने चलखेल भएको छ,’ औषधि व्यवस्था विभागका एक अधिकारीले भने, ‘जनतालाई झुक्याएर मूल्य बढाउने चलखेल गरियो ।’

सिटामोल उत्पादनको जिम्मेवारी पाएको नेपाल औषधि लिमिटेडका अनुसार अहिले प्रतिट्याब्लेट मूल्य एक रुपैयाँ पर्छ । सिलिङअनुसार एक पत्ताको १० रुपैयाँ पर्छ । त्यसभन्दा बढी मूल्य लिन पाइँदैन ।

‘उद्योगीको दबाब र चलखेलमा स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागले मूल्य बढाउन खोजेका हुन्,’ ती अधिकारीले भने ।

सिटामोलको उत्पादन र बिक्रीबाट सरकारलाई केही मात्रामा घाटा भए पनि त्यसको विकल्प वैज्ञानिक मूल्य समायोजन हो ।

सिटामोलको एमजी बढाउन ३ वटा स्वदेशी औषधि उत्पादकले आवेदन दिएका थिए । तर, २०७८ असार ११ मा औषधि मूल्यांकन समितिले विभागीय निर्णयबाट त्यसलाई अस्वीकृत गरेको थियो ।

तत्काल ६५० एमजीको सिटामोल आवश्यक नभएको भन्दै एमजी नबढाउने निर्णय गरिए पनि पछि नेपाल औषधि उत्पादक संघ नै एमजी बढाउने ‘लबिइङ’ मा लाग्यो ।

संघले माग गरेपछि औषधि सल्लाहकार समितिले संघलाई सिटामोलका विषयमा राय मागेको थियो । संघले ६५० एमजीको सिटामोल सुरक्षित र प्रभावकारी रहेको राय दिएको थियो ।

यसैका आधारमा समितिले सिटामोलको एमजी बढाउने निर्णय गरेको स्रोतको भनाइ छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।