• मंसिर १२ २०८१, बुधबार

राप्रपा-विवेकशील साझाबीच एकता : नाम र चुनाव चिह्नमा मात्रै अड्चन

चैत्र ११ २०७८, शुक्रबार

काठमाडौँ । नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि भन्दै हिँडेका रवीन्द्र मिश्र अन्ततः २०६२/०६३ सालको जनआन्दोलनका उपलब्धिहरुलाई नै संशोधनको एजेन्डा बोकेर हिंडेको राप्रपासँग विवेकशील साझा पार्टीलाई एकीकरण गर्ने प्रयास तीव्र पारेका छन् ।

पार्टीभित्र विचारभन्दा माथि देश भन्ने नाराअघि सारेर हालको व्यवस्थाभन्दा फरक ढंगले अघि बढ्ने आफ्नो एजेन्डा अनुमोदन गराएपछि मिश्र अब राप्रपासँगको एकतातर्फ मोडिएका हुन् ।

विवेकशील साझाबाट उनीमाथि प्रश्न गर्ने नेताहरु बाहिरिइसकेपछि मिश्रलाई राप्रपाले बोक्दै आएको एजेन्डालाई आधिकारिक अनुमोदन गर्ने बाटो खुला भएको हो ।

राप्रपासँग एकता प्राविधिकरूपमा मात्रै बाँकी रहेको ती दल निकट नेताहरुले बताएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशम्शेर राणा तथा विवेकशील साझाका अध्यक्ष मिश्रलगायतका नेता अहिले नियमित छलफलमा छन् । उनीहरुबीच छलफलबाट दुवै पार्टी एकतामा जाने निष्कर्षमा पुगेको बताइएको छ ।

सिद्धान्त र आगामी कार्यदिशामा विवाद नरहे पनि पार्टीको नाम र चुनाव चिह्न के हुने भन्ने प्राविधिक विषयले मात्रै एकता घोषणा बाँकी रहेको दुवै पक्षका नेताहरूले बताएका छन् ।

राप्रपाले नाम राप्रपा नै र चुनाव चिह्न हलो नै हुनुपर्ने अडान राखिरहेको छ । विवेकशील साझाले साझा पार्टीको पनि पहिचान झल्किने गरी नयाँ नाम राख्नुपर्ने र चुनाव चिह्न तराजु हुनुपर्ने प्रस्ताव गरेको छ ।

एकता प्रक्रियामा सक्रिय भूमिका निर्वाह गरिरहेका राप्रपाका महामन्त्री राणाले भने, ‘एकताका लागि धेरै कुरामा समस्या छैन । केही प्राविधिक कुराहरू नमिलेको हो । बाँकी त अब अप्ठ्यारो छैन ।’

पार्टी एकताका लागि काम भइरहेकाले आफूले धेरै बोल्न नमिल्ने उनको भनाइ प्रतिक्रिया थियो ।यो समाचार कान्तिपुर दैनिकमा छ ।