• मंसिर १७ २०८१, सोमबार

जनताको मर्म बुझ्ने युवा नेता रामचन्द्र

चैत्र १० २०७८, बिहीबार

विदुर । देशमा गणतन्त्र आएर आफ्ना प्रतिनिधि जनताले नै चुनेर शासन चलेको पनि एक अवधि भइसकेको छ । जनताले नै चुनेका प्रतिनिधिबाट नै शासन चल्न थालेपछि पनि जनताका लागि अतिआवश्यक पर्ने वस्तुहरुको उत्पादन तथा वितरणमा खासै परिवर्तन आएको पाइएको छैन ।

हुन त चुनावहरु यसभन्दा अघि पनि हुन्थे र जनताले नै ती जनप्रतिनिधिहरुलाई चुन्थे । उतिबेला राजतन्त्र भएका कारणले विकास नभएको हो भने पनि आज त जनताका नेताले शासन गरिरहेका छन् तर पनि देशको हालत उस्तै छ । यसको कारण के हो ?

गणतन्त्र आएर भएको चुनावबाट चुनिएका प्रतिनिधिहरुले शासन गर्दा पनि जनताको हालत यस्तै छ । यसरी विगत पाँच वर्षमा समाजमा उही असमानता दुःखका खाडलहरु र धनी र गरिब बिचको विभेदमा केही फरक आयो त ? अहँ, आएन ।

नुवाकोटको लिखु गाउँपालिका वडानम्बर ४ चौघडा दुई खोलाको बिचको टापु ठाँउ हो । चौघडालाई समृद्ध बनाउन हल्लाको पछाडी दौड्ने कि स्थानीयका लागि राम्रो काम गर्ने वडाअध्यक्ष चुन्ने ? यो जिम्मा सबै वडाबासीहरुकै हातमा छ । त्यसैले आजको दिनमा एक असल जिम्मेवार नेतृत्व पाउनका लागि चौघडाबासीले ध्यान दिएर सोंच्नु पर्छ ।

चुनाव अगाडी ठूला आश्वासन दिने र चुनाव जितेपछि जनताका मागहरुलाई बेवास्ता गर्ने बानी हाम्रा नेताहरुमा आजको होइन । जनता र तिनीहरुका समस्याहरुलाई समस्या नै नठान्ने र गन्दै नगन्ने नेताहरुपनि वडानम्बर ४ चौघडाबासीले धेरै देखे ।

वर्तमान राजनीतिमा सक्षम र परिपक्व नेतृत्व नहुनु भनेको भविष्यमा देशको राजनीतिकमा पनि संकट आउनु जस्तै हो । यस्तो अवस्था आउँदैन भनेर बहस गर्न त सकिएला तर हाम्रो अहिलेको राजनीतिक संस्कारले डोर्याइरहेको भविष्य भने त्यही नै हो । त्यस्तै राजनीतिक सम्भावना बोकेका युवा हुन्, लिखु गाउँपालिका-४ का राप्रपाका इकाई अध्यक्ष रामचन्द्र अगस्ती । उनी वडानम्बर ४ चौघडाकै स्थानीय बासिन्दा हुन् ।

रामचन्द्रले वडाभित्र मात्र नभई गाउँपालिका भित्र भएका अनियमितताको बारेमा आवाज उठाउँदै आएका, साथै चौघडाको कृषि क्षेत्रमा भएको बिचौलियाको बिगबिगीलाई अन्त्य गर्दै कृषिमा आधुनिक प्रविधिको विकासको प्रयोगमा जोड दिई गुणस्तरीय शिक्षाको व्यवस्था सबैसामु प्रवन्ध गर्नुपर्ने माग गर्दै आएका हुन् ।

दक्ष जनशक्तिलाई स्थानीयस्तरमै रोजगारीको व्यवस्था गर्न लागि पर्ने उनको उद्धेश्य रहेको छ । लिखु र तादीखोलाले पुर्याउँदै आएको क्षतिलाई कम गर्न नदी नियन्त्रणका विभिन्न वैज्ञानिक विधिको प्रयोग गरेर खाद्यबाली नस्ट हुनबाट जोगाउन सक्ने नेतृत्वको रुपमा लिखु-४ चारबासीले अगस्तीलाई चिनेका छन् ।

त्यतिमात्र नभई जनताको घरघरमा गई जनताको दुःखसुखको साथी भई निरन्तर रुपमा अगाडी बढ्दै आएका नेता पनि हुन्, अगस्ती । सबैको विश्वास जित्दै ब्यक्तिगत रुपमा सफल र निस्वार्थ भावना भएका व्यक्ति नै चौघडाको वडाअध्यक्ष बन्नु पर्ने जनताको मागमा उनी पर्दछन् । त्यसको लागि अगस्ती दाबेदार व्यक्ति भएकोले पनि उनलाई नै विजय गराउनु पर्ने सो क्षेत्रका युवाहरूको भनाई रहेको छ । आजभोलीका युवाले संसारलाई नजिकबाट नियाल्न सक्छन् ।

साथै समाज रुपान्तरणका लागि पारदर्शी र निश्पक्ष तरिकाबाट काम गर्न सक्छन् भन्ने उहाँको बुझाई छ । साथै पछिल्ला प्रविधिसँग काम गर्न सक्ने र छिटो भन्दा छिटो सेवा प्रवाह गर्नका लागि युवा नै चाहिने भएकोले पनि उनलाई विजय गराउनु पर्ने माग उठेको हो । अगस्ती युवाहरुसँग समन्वय गर्न सक्ने र राजनीतिक पूर्वाग्रह नराख्ने स्वाभावका कारण साथीभाई माझ लोकप्रिय छन् ।

उनले लिखु गाँउपालिका वडा नं ४ चौघडाको क्षेत्रपाल माविमा शिक्षक अभिभावक संघको अध्यक्ष भएर सफल कार्यकाल पूरा गरेका छन् । उत्कृष्ट विचार कार्यक्रम जस्ता कार्यक्रमले क्षेत्रपाल माविले छलाङ मारेको  सम्पूर्ण अभिभावकहरु बताउँछन् । जनतालाई निश्पक्ष र बिना पूर्वाग्रह साथ दिंदै आएका अगस्ती नुवाकोटमा बौद्दिक र सालिन ब्यक्तित्वको रुपमा चिनिन्छन् ।

सामाजिक रुपमा समेत सक्षम व्यक्तिको रुपमा आफूलाई स्थापित गराई सकेका अगस्ती नै लिखु-४ चौघडाको वडाअध्यक्ष बनेर जनताको सेवा गर्नुपर्ने स्थानीय जनताको माग रहेको छ ।

रामचन्द्र अगस्ती जस्ता क्षमतावान युवालाई नेतृत्व तहले मूल्यांकन गरी आगामी निर्वाचनमा जिम्मेवारी दिनु उपयुक्त देखिन्छ ।