काठमाडौं । नेकपा (एमाले)का नेताहरूले स्थानीय तहको निर्वाचनमा सत्ताधारी गठबन्धनले भन्दा बढी सिट जित्ने दाबी गरेका छन् ।
कांग्रेस र माओवादी एक्लाएक्लै मैदानमा आए करिब ६० प्रतिशत सिट हात पार्ने तथा सत्तागठबन्धन कायमै रहे ४० प्रतिशतभन्दा बढी सिट हात पार्ने दाबी केन्द्रीय कमिटी बैठकमा बोल्ने नेताहरूको छ ।
बुधबार सुरु भएको बैठकमा स्थानीय तह निर्वाचनबारे ब्रिफिङ गर्ने क्रममा नेताहरूले अधिकांश स्थानमा एमालेको अवस्था राम्रो रहेको दाबी गरे ।
अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन र एमाले एकातिर हुँदा पनि स्थानीय तहको निर्वाचनमा बहुमत ल्याउने दाबी पहिलेदेखि नै गर्दै आएका छन् ।
बैठकमा प्रदेश नं. १ का अध्यक्ष तुल्सी न्यौपाने, मधेस प्रदेशका अध्यक्ष रामअवतार यादव, वाग्मतीका केशव पाण्डे, गण्डकीका नवराज शर्मा, लुम्बिनीका राधाकृष्ण कँडेल, कर्णालीका विनोदकुमार शाह र सुदूरपश्चिमका दामोदर भण्डारीले अधिकांश स्थानमा एमाले पहिलो दल हुने दाबी गरेका थिए ।
प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार आगामी स्थानीय निर्वाचनमा एमाले लोकप्रियताका साथ पहिलो शक्ति हुन्छ, पार्टीप्रति तीव्र जनआकर्षण छ भन्ने रिपोर्टिङ भएको छ ।
यस्ता छन् ओलीका चुनाव जित्ने आधार
एमाले अध्यक्ष ओलीले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा निर्वाचन जित्ने विभिन्न आधारबारे चर्चा गरेका छन् ।
आफू नेतृत्वको सरकारले गरेका कामबारे उल्लेख गर्दै ओलीले पार्टीका सिद्धान्त, कार्यदिशा, नीति र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा खेलेको प्रभावकारी भूमिका, राष्ट्रको पहिचान, भूमिका र प्रतिष्ठा अभिवृद्धिका लागि गरेको योगदानका कारण पार्टीले बहुमत ल्याउने तर्क गरेका छन् ।
केन्द्र, प्रदेश र स्थानीय सरकारको नेतृत्व गर्दा विकास र समृद्धिका क्षेत्रमा खेलेको भूमिका, प्राप्त उपलब्धि र तिनले समाजमा ल्याएको परिवर्तनले पनि पार्टीलाई विजयी बनाउन सहयोग गर्ने उनको विश्लेषण छ । यो समाचार नागरिक दैनिकमा छ ।