• मंसिर ९ २०८१, आईतवार

कांग्रेस चुनावमा एक्लै भिड्ला कि सत्ता गठबन्धन दलहरुसँग तालमेल गर्ला ?

चैत्र ८ २०७८, मंगलवार

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कमिटीको बैठक चैत ११ गते बस्ने भएको छ । गठबन्धनका विषयमा कमिटीको धारणा एकीकृत गर्न र उम्मेदवार चयन गर्न बनाइने संसदीय समिति गठन गर्न बैठक बस्दैछ ।

कमिटीको बैठकले स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको पहिलो चरणको प्रभाव कस्तो पर्यो भन्नेबारे पनि विश्लेषण गरिने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

‘पार्टीका केन्द्रीय सदस्यका साथीहरू बसेर कहाँ–कहाँ गठबन्धन गर्ने चुनावमा कसरी जाँदा धेरैभन्दा धेरै पालिकामा जित हाँसिल गर्न सकिन्छ भन्ने निचोड निकाल्छौं,’ महतले भने, ‘साथीहरू यतिबेला गाउँ–गाउँ पुग्नुभएको छ ।

वडा र पालिकाहरूसँगको गठबन्धन कहाँ कस्तो हुन्छ भन्ने बारे बैठकमा छलफल हुन्छ ।’ देशभरका ७५३ स्थानीय तह तथा ६ हजार ७४३ वडामा पाँच वर्षे कार्यकालका लागि नयाँ जनप्रतिनिधि चयन हुँदैछन् । त्यसका लागि आसन्न वैशाख ३० गते स्थानीय तह निर्वाचनको मितिसमेत सार्वजनिक भइसकेको छ ।

कांग्रेसको विधान २०१७ (संसोधन सहित)को परिच्छेद आठमा संसदीय समितिसम्बन्धी व्यवस्था गरिएको छ । सोही परिच्छेदमा पार्टीबाट उम्मेदवारको योग्यता, उमेदवारको सिफारिस, निर्णय र अनुमोदनसम्बन्धी व्यवस्था पनि गरिएको छ ।

विधानले गाउँपालिका अध्यक्ष र उपाध्यक्षको टिकट फाइनल गर्ने अधिकार जिल्ला संसदीय समितिलाई छ । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।