• मंसिर ९ २०८१, आईतवार

सांसदबिनै मन्त्री बनाउन सकिने संवैधानिक व्यवस्थाअनुसार गण्डकी सरकारमा सहभागिता खोज्दै एकीकृत समाजवादी

चैत्र ५ २०७८, शनिबार

काठमाडौं । एक जना पनि सांसद नरहेको गण्डकी प्रदेशमा मन्त्री मागेको छ । गठबन्धनका नेताबीच गण्डकी सरकारमा एकीकृत समाजवादीलाई सहभागी गराउनेबारे सहमति भइसकेको बताइएको छ ।

संविधानको धारा १७० मा गैरसांसदलाई ६ महिनासम्म मन्त्री बनाउन सकिने व्यवस्था छ । सोही व्यवस्थामा टेकेर सरकारमा जाने समाजवादीको तयारी छ ।

एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यले यस विषयमा आधिकारिक रूपमा बोल्न नसकिने बताए । ‘गठबन्धनको केन्द्रमा भएको छलफल हो,’ उनले भने, ‘सुदूरपश्चिममा हाम्रा ७ मन्त्री छन् ।

उता हामीले एउटा मन्त्री छाडेपछि यता कांग्रेसले एउटा मन्त्री दिने कुरा भएको थियो । सबै प्रदेशमा गठबन्धनका सबै दलको प्रतिनिधित्व गराउने भन्ने सुन्नमा आएको छ ।’

उनले सरकारमा को जाने, कहिले जाने भन्ने विषय टुंगो नलागेको बताए । गण्डकी प्रदेशमा संविधानअनुसार १२ जनासम्म मन्त्री बनाउन पाइने व्यवस्था छ ।

उक्त संख्या पुगिसकेकाले अब मन्त्री थप्न मिल्दैन । सुदूरपश्चिममा आफूहरूले मन्त्री पद छाडेपछि गण्डकीमा कांग्रेसले पनि छाड्नुपर्ने समाजवादीका नेताको तर्क छ ।

गठबन्धनबाट गत जेठ २९ मा गण्डकीमा कांग्रेसका कृष्णचन्द्र नेपालीको नेतृत्वमा सरकार गठन भएको थियो ।

हाल सरकारमा कांग्रेसका ६, माओवादीका ४, जनता समाजवादीका १ र स्वतन्त्र सांसद मन्त्री छन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।