काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गराउन वैशाख ११ र १२ को मिति तोकेको छ ।
र्निाचनका विषयमा विभिन्न पक्षबाट आशंका व्यक्त भइरहेका बेला आयोगले उम्मेदवारी मनोनयनसहितको कार्यतालिका शुक्रबार सार्वजनिक गरेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार वैशाख ११ र १२ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गराउन सकिनेछ ।
स्थानीय तहमा धेरैले उम्मेदवारी दिने भएकाले भिडभाड कम गर्न दुई दिनको समय उपलब्ध गराउने निर्णय भएको पौडेलले जानकारी दिए ।
त्यस्तै वैशाख १२ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ मा उम्मेदवारविरुद्ध उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने आयोगले जनाएको छ ।
त्यसपछि वैशाख १५ मा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । वैशाख १६ मा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, वैशाख १७ मा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
आयोगले निर्वाचन आचारसंहिता निर्माण गर्नुको साथै लागु गर्ने तयारी गरेको छ । यो समाचार नागरिक दैनिकमा छ ।